काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए।त्यसबारे सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक राईले यस्तो भनेका हुन् ।
उनले भने- 'आज सदनमा बोल्दै गर्दा मेरो शिर निहुरिएको छ । हिजो प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले आज मेरो मात्र होइन, आम नेपाली नागरिकको शिर निहुराएको छ । '
उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न चुनौती दिए।
उनले थपे- 'प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ कहाँकहाँ नेपालले भारतको जमिन मिच्यो । एक एक इन्चको हिसाब चाहिन्छ । भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने कुन दिने ।'
प्रधानमन्त्री शाहले आफ्नो भनाइ फिर्ता लिएर माफी नमागे सम्म संसद् चल्न नदिने अडान समेत उनको छ ।