काठमाडौं । विशेष अदालतले घुस लिएको अभियोगमा मधेस प्रदेशसभा सदस्य सरोजकुमारसिंह कुशवाहलाई चार वर्ष एक महिना कैद सजाय तोकेको छ ।
अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैदसँगै ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना समेत हुने फैसला गरेको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार सजाय निर्धारण गरेको हो । यसअघि जेठ ४ गते नै कुशवाहलाई कसुरमा दोषी ठहर गरिएको थियो भने सजाय आज तोकिएको हो ।
अदालतका अनुसार कुशवाहले विभिन्न उपभोक्ता समितिहरूसँग घुस तथा कमिसन बापत रकम लिएको पुष्टि भएको छ ।
सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप एक महिना कैद सजाय समेत सुनाएको छ ।
सजायसँगै अदालतले भ्रष्टाचारबाट प्राप्त ३८ लाख ५० हजार १३९ रुपैयाँ जफत गरी सरकारी असुली गर्न आदेश दिएको छ ।
साथै, अपराधपीडित संरक्षण ऐन, २०७५ अनुसार १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न समेत निर्देशन दिएको छ ।