पोखरा । कास्कीको फेवातालमा शनिबार अपराह्न एक्कासि आएको तीव्र हावाहुरीका कारण तालको बीचभागमा अलपत्र परेका १२ जना पर्यटकको उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले उनीहरुको सकुशल उद्धार गरेको हो । फेवातालमा यसअघि पनि हावाहुरीका कारण पर्यटकहरू समस्यामा पर्दा सशस्त्र प्रहरीले उद्धार गर्दै आएको छ।
पोखरा महानगरपालिका–६ स्थित फेवातालमा ‘सर्फेस’ तथा ‘प्याडल बोट’मा सयर गरिरहेका विभिन्न जिल्लाका स्वदेशी पर्यटक र जापानबाट घुम्न आएकी ४८ वर्षीया एक विदेशी नागरिकसहित १२ जना शनिबार (जेठ २३) अपराह्न करिब ४ः३५ बजे चलेको हावाहुरीका कारण तालमै अलपत्र परेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ फेवा रेस्क्यु टावरमा तैनाथ सशस्त्र प्रहरीका १० जनाको विशेष उद्धार टोली तत्काल परिचालन गरिएको थियो। उद्धारकर्मीहरूले प्रतिकूल मौसम र तीव्र हावाहुरीबीच तालको बीचभागमा पुगेर सबै पर्यटकलाई सुरक्षित रूपमा किनारमा ल्याएका थिए।
सशस्त्र प्रहरीका अनुसार उद्धार गरिएका सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको छ। समयमै उद्धार टोली परिचालन भएकाले सम्भावित दुर्घटना टरेको बताइएको छ।