पोखरा । पोखरा महानगरपालिकाले फेवा तालको किनारामा रहेका अनाधिकृत संरचनाहरु हटाउन शुरु गरेको छ।
सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले ताल किनाराका अवैध संरचनाहरुमा डोजर चलाउन थालेको हो।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त सहजीकरणमा फेवा संरक्षणको कामलाई तीव्रता दिइएको हानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।
उनले सर्वोच्च अदालतको फैसलालाई पूर्ण रुपमा कार्यान्वयन गर्न महानगर प्रतिबद्ध रहेको बताए।
मेयर आचार्यले विगत तीन वर्षदेखिको निरन्तर प्रयासपछि गत असार मसान्तमा तालको सीमांकनका लागि पोल गाड्ने काम सम्पन्न भएको र त्यसपछिको अर्को महत्वपूर्ण कदमका रुपमा ६५ मिटर मापदण्ड भित्रका संरचना हटाउन लागिएको बताए ।
महानगरपालिका सर्वोच्च अदालतको फैसलालाई अक्षरशः पालना गर्न र फेवाको अस्तित्व जोगाउन कुनै कसर बाँकी नराख्ने कुरामा दृढ रहेको उनको भनाइ छ।

यसैबीच पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर मापदण्डभित्र पर्ने संरचनाहरू भत्काउन शुरु गरेसँगै स्थानीय व्यवसायीहरूले भने बिना पूर्वसूचना र मुआब्जा बिना नै रातारात संरचना भत्काइएको भन्दै विरोध समेत जनाएका छन्।
