काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरे पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको सेवा दायित्व पूरा नगरी विश्वविद्यालय छाडेका वा सेवामा अनुपस्थित रहेका शिक्षक तथा कर्मचारीलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो ।
सूचनामा निर्धारित समयभित्र सम्पर्कमा नआए कबुलियतनामा तथा विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट चेतावनी दिइएको छ।
त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका करिब ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको पहल र त्रिविको सक्रियतामा यो असुली प्रक्रिया अघि बढाइएको हो।
विश्वविद्यालयले अध्ययन बिदालाई दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण सुविधा भन्दै त्यसको उद्देश्य विपरीत दुरुपयोग भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
त्रिविले केही प्राध्यापकहरूले अध्ययन पूरा गरेपछि सेवामा नफर्किँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक रूपमा ठूलो क्षति पुगेको उल्लेख गर्दै सम्झौताअनुसारको सेवा दायित्व अनिवार्य रूपमा पूरा गर्नुपर्नेमा जोड दिएको छ।