Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौं महानगरको छात्रवृत्ति मनोनयन सूची सार्वजनिक, ३ हजार ७३५ विद्यार्थी सिफारिस

काठमाडौं महानगरको छात्रवृत्ति मनोनयन सूची सार्वजनिक, ३ हजार ७३५ विद्यार्थी सिफारिस

शनिवार , जेठ २३, २०८३

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न योग्य विद्यार्थीहरूको मनोनयन सूची (म्याचिङ लिस्ट) सार्वजनिक गरेको छ ।

महानगरले यसअघि प्रकाशित अन्तिम योग्यता क्रम, विद्यार्थीले आवेदनमा छनोट गरेको विषय र शिक्षण संस्थाको प्राथमिकताका आधारमा सिट संख्या मिलान गर्दै जेठ २२ गते बसेको परीक्षा समितिको निर्णयअनुसार सूची सार्वजनिक गरेको हो ।

मनोनयनमा परेका विद्यार्थीहरूले महानगरको छात्रवृत्ति पोर्टलमार्फत रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी मनोनयन पत्र प्रिन्ट गर्न सक्नेछन् ।

उक्त पत्र लिएर जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य भर्ना हुनुपर्नेछ। समयसीमाभित्र भर्ना नभएमा छात्रवृत्तिको दाबी स्वतः रद्द हुने परीक्षा समितिले जनाएको छ।

समितिका संयोजक नमराज ढकालका अनुसार मनोनयन भएको शिक्षण संस्था परिवर्तन गर्न पाइने छैन ।

प्रकाशित विवरणअनुसार कुल ३ हजार ७३५ विद्यार्थी विभिन्न विषय र कोटामा सिफारिस भएका छन्। यसमा व्यवस्थापनमा सबैभन्दा बढी १ हजार ४०१, विज्ञानमा २ हजार २६६, कानुनमा ५०, मानविकीमा १२ र शिक्षामा ६ जना रहेका छन्।

त्यसैगरी कोटा प्रणालीअनुसार महानगरभित्रका स्थायी बासिन्दा, सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, खस आर्य, मधेशी, दलित, मुस्लिम, थारु, पिछडिएको क्षेत्र तथा अन्य आरक्षण समूहबाट समेत विद्यार्थी सिफारिस गरिएको छ।

शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार यस वर्ष महानगरका १४५ शिक्षण संस्थाका लागि ४ हजार ८५७ कोटा निर्धारण गरिएको छ।

जेठ १७ गते लिइएको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा जेठ १८ गते र अन्तिम योग्यता सूची जेठ २१ गते प्रकाशित गरिएको थियो ।

पुनर्योगका लागि ३३१ आवेदन परेका थिए भने ओएमआर उत्तरपुस्तिका म्यानुअल तथा कम्प्युटर दुवै विधिबाट पुनः परीक्षण गरिएको थियो।

महानगरले भर्ना प्रक्रिया पूरा नभएपछि खाली रहने सिटमा दोस्रो चरणको मनोनयन सूची जेठ २८ गतेपछि प्रकाशित गर्ने जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077