झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ ।
भारततर्फबाट छावा (हात्तीका बच्चा) सहित आएका जंगली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा छन् ।
दैनिक ४० देखि ५० वटाको संख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कन्छन् त कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन् ।
छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले गाउँमा कतिखेर अप्रिय घटना हुने हो भन्ने त्रास फैलिएको स्थानीयवासीको भनाइ छ ।
हात्तीको आतंकका कारण अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउनसमेत सकिरहेका छैनन् । बाटोमै हात्ती भेटिने डरले बालबालिकाको पढाइ प्रभावित भएको छ ।
किसानहरू असारको हिलोमा धान रोप्न छाडेर ज्यान हत्केलामा राख्दै दिनभर हात्ती धपाउन हिँडिरहेका छन् ।
स्थानीय युवा र प्रहरी प्रशासनको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर चियाबारीभित्र लुकेर बसेका हात्तीलाई मानव बस्तीभन्दा टाढा सुरक्षित स्थानतर्फ धपाउने प्रयास गरिरहेका छन् । तर, यो प्रयास ‘अल्पकालीन’मात्र सावित भएको छ ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर फिल्डमा खटिएको बताएका छन् ।