काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले राज्य सञ्चालन नै संविधानबमोजिम नभएको दावी गरे ।
उनले प्रशासन, न्यायालय, प्रहरीलगायत संवैधानिक निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको पनि बताए ।
देश हाल कसको नियन्त्रणमा छ भनेर भन्न समेत गाह्रो रहेको बताउँदै उनले नेपालमा प्रतिशोधको राजनीति धेरै नै भइरहेकाले यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने ठोकुवा गरे ।
राजनीतिक दलहरूका बीचमा अविश्वास दिनप्रतिदिन गहिरिँदै गएको भन्दै उनले एक ठाउँमा बसेर देशका बारेमा सोच्ने परिस्थिति नै नरहेको जिकिर गरे ।
नेता सिटौलाले संविधान भनेको कुनै धार्मिक ग्रन्थ नभएकाले संविधानवादको विकासक्रममा संशोधन गरिनुपर्नेमा जोड दिए ।