काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिकी सदस्य सांसद विदुषी राणाले पुँजी बजारलाई केवल सेयर किनबेचको माध्यमका रूपमा सीमित नराखी मुलुकको समग्र आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्वसँग अर्थ समितिमा भएको छलफलका क्रममा उनले लगानीकर्ताको विश्वास पुनर्स्थापना गर्दै पुँजी बजारलाई वास्तविक अर्थतन्त्रसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिइन् ।
राणाले पुँजी बजारको सफलताको मूल्याङ्कन केवल नेप्से परिसूचकको उतारचढावबाट नभई उत्पादन, रोजगारी सिर्जना, उद्योग विस्तार र लगानी प्रवर्द्धनमा पुर्याएको योगदानका आधारमा हुनुपर्ने धारणा राखिन् ।
उनका अनुसार देशभर ७८ लाखभन्दा बढी ‘मेरो सेयर’ प्रयोगकर्ता र ठूलो संख्यामा डिम्याट खाता भए पनि बजारको गहिराइ र संस्थागत सहभागिता अझै अपेक्षित स्तरमा पुगेको छैन ।
त्यसैले दीर्घकालीन तथा संस्थागत लगानी आकर्षित गर्न धितोपत्र बोर्डले स्पष्ट र प्रभावकारी रणनीति अवलम्बन गर्नुपर्ने उनले सुझाव दिइन्।