काठमाडौं । सरकारको आलोचना गरेको भनेर सञ्चारगृहको गेटमा गाडी राखेर आतंक मच्चाउने व्यक्तिहरुको धमाधम पहिचान खुलिरहेको छ । यसमा सत्तारुढ दल रास्वपाकै नेताहरूको संरक्षण रहेको भेटिएको छ ।
यसरी गाडीराख्नेमध्ये एक पूर्वगृहसचिव महेश्वर न्यौपानेका भाञ्जा भएको खुलेको छ । अनलाइनखबरको बुद्धनगरस्थित कार्यालयको गेटमा बा१२च ८५४५ नम्बरको गाडी छाडिएको थियो । यो गाडीका धनी सुनिल पौडेल भएको र उनका भाई सुजन पौडेलले गाडी लगेर राखेका थिए । विवादास्पद पृष्ठभुमी भएका उनै सुजन पूर्वगृहसचिव महेश्वर न्यौपानेका भाञ्जा हुन् ।
न्यौपाने गृहसचिव भएका बेला उनले असुली धन्दा चलाएको भन्दै बदनाम भएका थिए । गोकर्णेश्वर बस्ने पौडेल प्रहरीसँगको सेटिङमा गिटीबालुवाको काम पनि गर्दछन् ।
तर, स्वार्थअनुसार काम नभएपछि उनले बौद्धका तत्कालीन डिएसपी श्याम राईलाई घुसमा फसाउने योजना बनाएर पक्राउ गराएका थिए । त्यतीबेला न्यौपाने अख्तियारमै सचिव थिए । घटना सुनियोजित देखिएपछि डिएसपी राईले अदालतबाट सफाइ पाएका थिए ।
पछिल्लो समय रास्वपा निकट भएका उनै पौडेलले अहिले मिडिया धम्काउने धन्दा सुरु गरेका छन् । उनी लगायत यसरी मिडियाको गेटमा गाडी राख्नेमाथि पक्राउ गरेर कारबाही गर्न पत्रकार महासंघ लगायत संघसंस्थाले दबाब दिइरहेका छन् ।
न्यौपाने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणमा अख्तियारले मुद्दा चलाएका व्यक्ति हुन् । भाञ्जालाई रास्वपामा घुसाएर उनले बालेन सरकारसँग नजिक भई काम गर्न खोजिरहेका छन् ।
उनै न्यौपानेले अबैध रुपमा कमाएको सम्पत्ति भाञ्जा पौडेलको नाममा राखेको विषयमा पनि अख्तियारले छानविन गरेको थियो ।
प्रहरीले पौडेललाई पक्राउ गरी अनुसन्धान गर्ने हो भने उनी कोबाट कसरी परिचालित थिए ? भन्ने कुराको सबै खुलस्त हुने प्रहरी स्रोत नै बताउँछ ।
मामा न्यौपानेको अवैध सम्पत्तिमाथि अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरिरहेका बेला उनी सरकारलाई खुसी बनाएर मामालाई जोगाउनका लागि आपराधिक गिरोहसँग मिलेर यस्तो हर्कतमा उत्रिएको स्रोत बताउँछ ।
न्यौपाने अवकाश लगत्तै अख्तियारकै आयुक्त बन्न खोजिरहेका थिए । तर, पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा मुद्दा खेप्नु परेपछि हाललाई उनको चलखेल रोकिएको छ ।

महेश्वरले सुजन पौडेलको नाममा सम्पत्ति लुकाएको बारेमा ९ वर्ष अघि नै बुधबार साप्ताहिकले यसरी खुलासा गरेको थियो ।
यस्तो थियो बुधबार साप्ताहिकमा प्रकाशित समाचार
पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा कर्मचारी वृत्तमा व्याप्त छ । मन्त्री रामबहादुर थापा ‘बादल’ को स्वभाव टन्न खाएर उघ्राउँदै बसेको भैंसीको जस्तो, सचिव महेश्वर न्यैपानेको ध्यान उठ्तीपुठ्तीमा मात्र भएपछि गृह प्रशासन लथालिंग बनेको हो ।
गृहलाई पनि अप्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयले नै चलाउने गरेको छ । बालुवाटारको राजनीतिक नेतृत्वका अगाडि गृहको प्रशासानिक नेतृत्व लम्पसार परेको छ । जसका कारण दुईदुई महिनामा सीडीओ हेरफेर भएका छन् । जसको प्रत्यक्ष असर जिल्लाको शान्ति सुरक्षामा परेको छ । सचिव न्यौपानेको कारण गृह प्रशासन पछिल्ले समय झन्झन् बदनाम बन्दै गएको छ ।
पैसा आउँछ भनेपछि जे गर्न पनि पछि नपर्ने सचिव न्यौपानेका कारण प्रजातन्त्र दिवसको अवसर पारेर गरिएका कैदीकोहरूको आममाफी विवादास्पद बन्यो । कतिसम्म भने चितवन तरुण दलका अध्यक्ष शिव पौडेलको हत्यारालाई समेत आममाफी दिइयो । अरू धेरै हत्यारा, बलात्कारीले पनि माफी मिनाहा पाए । आममाफी दिँदा पनि राम्रै रकमको चलखेल भएको बताइन्छ ।
पैसा चलखेलको काम भने जता गए पनि भाञ्जा सुजन पौडेलले गर्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धानको सचिव हुँदा उनै पौडेलका कारण विवादमा तानिएका न्यौपाने अहिले विगत एक वर्षभन्दा वढी समयदेखि गृह मन्त्रालयको सचिव छन् ।
अहिले पनि मामाको नाम भजाउँदै रकम संकलनको सबै काम भाञ्जा सुजनले गर्ने गरेको स्रोतले बतायो । विश्वस्त सूत्रका अनुसार नेपाल प्रहरीको इन्स्पेक्टरबाट डीएसपी तथा डीएसपीबाट एसपीमा भएका बढुवामा पनि भाञ्जा सुजनले पैसा उठाएका थिए । सईबाट इन्स्पेक्टर बढुवामा पनि सुजनसँग पैसाको मोलमोलाई टुंगो लागिनसकेकाले ढिलाइ भइरहेको बताइन्छ ।
सचिव न्यौपानेका २७ वर्षीय भाञ्जाले मामाकोे आडमा धेरैलाई तर्साएर २५औं करोड रुपैयाँ आर्जन गर्नु र यसमा मामा मौन रहनुका कारण उनको नियतमाथि शंका गर्न थालिएको छ । हिजो मामा अख्तियारमा हुँदा अख्तियार देखाएर तर्साउँथे, अहिले गृह देखाएर तर्साउँदै पैसा असुलीलाई निरन्तरता दिइरहेको बताइन्छ ।
मामा अख्तियारमा सचिव भएको १५ महिनामै उनले ५०औं रोपनी जग्गा जोडेका थिए । काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–३ का नातिराज पौडेलका नाति पुष्कलराज पौडेलका छोरा सुजनसँग आज त्यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर छानबिन गर्ने हो भने त्यो सबै सचिव न्यौपानेको आडमा आर्जन गरेको खुल्ने स्रोतको दाबी छ ।
मामाको आडमा भाञ्जा पौडेलले तर्साउँदै घुस असुल्ने र पक्राउ गरिएकाहरूसँग पनि भनेजति रकम दिए बयान कमजोर दिएर विशेष अदालतबाट मुद्दा जिताइदिने भनी मोलमोलाइ गर्दै आएका स्रोतले बतायो । मामा न्यौपाने अख्तियारमा सचिव हुँदा भाञ्जा सुजनले के–के गरे ? यसबारे यसअघि नै बुधबार साप्ताहिकले तथ्यसहित सामग्री प्रकाशन गरिसकेको छ । केही तथ्य यस्ता छन् :
घटना नम्बर १ : २०७५ वैशाख १९ मा नापी कार्यालय साँखु काठमाडौंका प्रमुख नापी अधिकृत भागवत साहलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पक्राउ ग¥यो । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा रहेको ३६ रोपनी जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग कार्यालय सहयोगी खेमराज भण्डारीमार्फत २ लाख ५० हजार लिएको भन्दै साहलाई कार्यालय परिसरबाट पक्राउ गरिएको थियो ।
त्यो ३६ रोपनी जग्गा कित्ताकाट गरी २ लाख ५० हजार घुस दिने सेवाग्राही थिए, काठमाडांै जिल्ला गोकर्णेश्वर नगरपालिका ३ बस्ने सुजन पौडेल । त्यो ३६ रोपनी जग्गा पनि उनकै थियो । अख्यिारकै विज्ञप्तिका अनुसार साह आफैंले घुस लिएका थिएनन् ।
कार्यालय सहयोगी भण्डारीमार्फत लिन खोजेका थिए । रंगेहात घुस लिँदा लिने व्यक्तिलाई पक्राउ गरिन्छ । करिब दिउँसोको २ बजेको थियो साह कार्यालयमै थिए । कार्यालयको ढोकामा रहेका भण्डारीलाई पौडेलले पैसा हातमा लगाइदिएपछि साहलाई तत्काल पक्राउ गरिएको थियो ।
घटना नम्बर २ : २०७५ असोज २१ मा महानगरीय प्रहरी वृत्त, बौद्ध काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ ग¥यो । सेवाग्राहीबाट सोनी कम्पनीको टिभी खरिदबापत १ लाख ४० हजार घुस लिएको अरोपमा राईलाई पक्राउ गरियो । अहिले राईले सफाइ पाइसकेका छन् ।
सोनी कम्पनी खरिदका लागि १ लाख ४० हजार घुस दिने सेवाग्राही पनि उनै २५ वर्षीय सुजन पौडेल थिए । अख्तियारको विज्ञप्तिमा डीएसपी राईले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनू भनी जिन्सी सामानका रूपमा घुुस÷रिसवत माग गरेको र टिभी आफैंले खरिद गरी ल्याउने र सो खरिद गरेबापतको बिल भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस मागेको दाबी गरिएको थियो ।
सुजनको परिवार यसअघि सामान्य परिवारको भएको उनका छिमेकीहरूलाई थाहा छ । सुजन पौडेलका बुबा, अख्तियार सचिव न्यौपानेका भिनाजु पुस्कलराज पौडेल जजमानी पेसा गर्ने पुरोहित हुन् । यसबाहेक उनको परिवारमा कोही पनि रोजगारीमा छैनन् ।
तर गएको तीन वर्षमा छोरा सुजन पौडेलले भने अकूत सम्पत्ति आर्जन गरेका छन् । काठमाडौंको साँखु क्षेत्रमा मात्रै उनको करोडौं मूल्यबराबरको जग्गा रहेको छ । मामा अख्तियारमा सचिव भएको अवधिमा मात्रै उनले करोडौंको जग्गा जमिन खरिद गरेको मालपोत कार्यालयको अभिलेखबाट खुलेको छ ।
पछिल्लो रेकर्डअनुसार मात्रै साबिक बालुवा गाविस कित्ता नम्बर ३२४ को नक्सा सिट नं. ६, ६ ग, खण्डे नं. को कि.नं. ३७९ नम्बरको जग्गा २०७५ वैशाख २७ मा पास गरेका छन् ।
साबिक बालुवा गाविसकै ३२४ को कित्ता गत वैशाख २७ मै खरिद गरेका छन् । जुन हाल कि.नं. ३७८ हो । बालुवाकै ३८० नम्बर कित्ता जग्गा पनि उनले २०७५ वैशाख २७ मै पास गरेका छन् ।
त्यसैगरी २०७५ जेठ १ मा साबिक नाङ्लेभारेको कि.नं. ११०, नक्सा सिट नं. ३, ३ ख को जग्गा खरिद गरेको देखिन्छ । नाङ्लेभारेकै साबिक कि.नं. ११३ पनि सोही दिन खरिद गरेका छन् । सुजन पौडेलले नाङ्लेभारेको कि.नं. ११६ पनि किनेका छन् । यीबाहेक अन्यत्र पनि उनको नाममा धेरै जग्गा जमिन रहेको स्रोतको दाबी छ । भक्तपुर साबिक चित्तपोल गाविसमा १ रोपनी १५ आना जग्गा उनको नाममा देखिन्छ ।
पछिल्लो समयमा उनी गृह सचिवको भाञ्जाको तुजुक देखाउँदै उनी प्रहरीका हाकिमहरूसँग बाक्लो हिमचिम र उठबस सक्रिय छन् ।