Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

जापानलाई ९ विकेटले हराउँदै नेपाल एसीसी महिला यु- १९ प्रिमियर कपको सेमिफाइनलमा

जापानलाई ९ विकेटले हराउँदै नेपाल एसीसी महिला यु- १९ प्रिमियर कपको सेमिफाइनलमा

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । नेपालको महिला यु-१९ टोली एसीसी महिला यु- १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मलेसियामा जारी प्रिमियर कपमा आज जापानलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

जितको लागि ८७ रनको सामान्य चुनौती नेपालले ११ ओभर  २ बलमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। 

ओपनरद्वय साना प्रवीण र सावित्री धामीले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरे। १८ रन जोडेर साना आउट भइन्। त्यसपछि सावित्री र कप्तान सोनी पाख्रिनले नेपाललाई जिततर्फ डोर्याए। उनीहरूले दोस्रो विकेटको लागि अविजित ४८ रनको साझेदारी गरे।

सावित्री अविजित ४१ रनमा रहिन्। ३२ बल खेल्दै ७ चौका प्रहार गरिन्। उनले यसअघि तीन खेलमा लगातार तीन अर्धशतक बनाएकी थिइन्।‌ सोनीले अविजित १८ रन जोडिन्।  बलिङमा जापानकी ममता कासवानले १ विकेट लिइन्। 

त्यसअघि टस जितेर जापानले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। २० ओभरमा जापानले सबै विकेट गुमाएर ८६ रन मात्र बनायो।  

ओपनर नाटसुमे वाडा डक आउट हुँदा आयने साकुराबा १० रनमा आउट भए। दुई विकेट गुमाउँदा जापानले २८ रन बनाएको थियो।

यसपछि कप्तान बियान्का सिनो र किचो सुजुकीले तेस्रो विकेटको लागि ३५ रनको साझेदारी गरे। सुजुकी १० रनमा आउट भइन्। यसपछि थप २३ रन जोड्दा ८ विकेट गुमायो।  

बियान्का अविजित ३८ रन जोडिन्। ८ खेलाडीले दोहोरो रन छुन सकेनन्। ७ खेलाडीले रनको खाता नखोली आउट भए। बलिङमा नेपालकी रिया शर्मा र क्रिस्मा गुरूङले  समान २ विकेट लिए। 

नेपालले यसअघि समूह चरणमा हङकङलाई १८१ रन, कतारलाई १०५ रन र सिंगापुरलाई १५१ रनले हराउँदै विजयी यात्रा कायम राखेको थियो।

अब नेपालले युएईसँग सेमिफाइनलमा खेल्नेछ ।इन्डोनेसिया र थाइल्याण्डबीच अर्को सेमिफाइनल हुनेछ। यी चारै राष्ट्र यु-१९ एसिया कपमा छनोट भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077