Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विप्लव समूहको पर्चामा बाँस्कोटामाथि लगाइएका १० आरोप

    विप्लव समूहको पर्चामा बाँस्कोटामाथि लगाइएका १० आरोप

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बुधबार बिहान गरिएको बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

    विप्लव निकट मानिने इरातोखबर डट कम अनलाइनले पनि विभिन्न १० वटा कारण देखाउँदै विष्फोट गरेको जनाएको छ । घटनास्थलमा नेकपाद्वारा जारी ‘भ्रष्टाचारी गोकुल बाँस्कोटामाथि कारबाही किन’ भन्ने पर्चा छरिएको समेत उक्त अनलाइनमा उल्लेख छ।



    बम विस्फोटपछि अनुसन्धानमा सिआइबी, महानगरीय अपराध महाशाखा र प्रहरी परिसरको टोली जुटिरहेको छ। बाँस्कोटाको पुरानो एक तले घर तीन तले बनाउने काम भइरहेको छ। निर्माणाधीन उक्त घरमा बाँस्कोटा अहिले बस्दैनन्। मन्त्री भएदेखि नै उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका छन्।



    यसैगरी विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा फुटेका छन् भने छेऊमा रोकेर राखिएको बा १९ च नम्बर ४७८१ को मारूती भ्यानमा क्षति पुगेको प्रहरीले जनाएको छ। यसैबीच बम विष्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा सञ्चारमन्त्रीले कमिसन मागेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

    विप्लव समूहले पर्चामा बाँस्कोटामाथि लगाएका १० आरोप यस्ता छन्:

    १. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।

    २. २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले।

    ३. १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले।

    ४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले।

    ५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा-सुविधाका नाममा करोडौं हिनामिना गरेकाले।

    ६. सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।

    ७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।

    ८. राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।

    ९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।

    १०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार