Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अपराध नियन्त्रणमा नेपाल प्रहरीको भूमिका कमजोर, सशस्त्रले दिंदैछ चुनौती

    अपराध नियन्त्रणमा नेपाल प्रहरीको भूमिका कमजोर, सशस्त्रले दिंदैछ चुनौती

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 12.7K
    SHARES

    काठमाडौं। आपराधिक गतिबिधि नियन्त्रणमा नेपाल प्रहरीको भूमिका कमजोर बन्न थालेपछि सशस्त्र प्रहरीले सक्रिय भएर  अपरेशन थालेको छ।

    कतिपय तस्करी र अबैध धन्दामा सेटिङका आधारमा नेपाल प्रहरीले आँखा चिम्लन थालेपछि त्यस्ता धन्दामा सशस्त्रको टोलीले एक्सन लिन थालेको वताइएको छ ।



    अहिले  प्रहरीको चेन अफ कमाण्ड कमजोर बन्दै गएका कारण प्रहरीले नियमित गर्दै आएका चोरीपैठारीका सामान बरामद देखी  लागूऔषध बरामद, तस्करी तथा स्रोत नखुलेको सम्पत्ति बरामद गरेर सशस्त्रले नेपाल प्रहरीलाई चुनौती दिइरहेको छ।



    कतिपय जिल्लामा प्रहरीका एसपीको नै तस्करहरुसँग उठबस चल्दै आएको हुँदा सशस्त्रले काम देखाउने मौका पाएको एक उच्च प्रहरी अधिकारी दाबी गर्छन्।

    बिशेष गरी भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा अबैध धन्दा फस्टाउन थालेको र सशस्त्र प्रहरी टोलीले पनि त्यस्ता ठाउँहरुमा गोप्य रुपमा निगरानी गरेर कारवाही थालेको ती प्रहरी अधिकारी वताउँछन् ।

    सशस्त्र प्रहरी टोलीले पक्राउ परेका व्यक्ति र उनीहरुको साथबाट बरामद सामानलाई पत्रकार सम्मेलन नै गरेर  नेपाल प्रहरीलाई जिम्मा लगाउने अभियान थालेको छ। यस्ता कामहरुले गर्दा नेपाल प्रहरीसामु चुनौती थपिएको छ ।

    बैशाख २३ गते एपीएफ टोलीले अबैध रकमसहित सार्वजनिक गरेका व्यक्तिहरु

    नेपाल- भारत सीमा क्षेत्र सिलबन्दी भएको बेला गत बैशाख २३ गते एपीएफ टोलीले  भारतबाट आएको खाली ट्रकमा एक करोड नौ लाख उनासी हजार सात सय तीस भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो।उनीहरुले प्रहरीसँगको प्रारम्‍भिक बयानमा नेपालबाट डाइपर लिएर सिलगुडी जान लागेको बताए पनि सो रकम किन र कहाँ लैजाान ल्याएको भन्ने बारेमा केही खुलेको छैन ।

    त्यस्तै,आज मात्र पर्सा जिल्लाको छिपरमाई गाउँपालिका ४ बन्जारीबाट  सशस्त्र प्रहरी टोलीले २२ लाख ४८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेर नै पर्सा प्रहरीलाई जिम्मा लगाएको छ।  पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ५ बस्ने २५ वर्षिय प्रकाश साह छन् ।

    स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित सार्वजनिक गर्दै एपिएफ टोली

    उनलाई सशस्त्र प्रहरी, बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । यि त दुई प्रतिनिधी घटना मात्र हुन। लकडाउनको समयमा मकवानपुर,चितवनलगायतका जिल्लाहरुमा पनि अबैध लागूऔषधसहित मानिस नै पक्राउ गरेर तस्बिरसहित सशस्त्र टोलीले प्रहरीलाई जिम्मा लगाएको थियो।

    ‘एपीएफ टोलीद्वारा सीमा सुरक्षा,चोरीपैठारी निकासीको सामान बरामद गर्नु,नदीमा डुबेकादेखी विभिन्न ठाउँमा अनेक कारणले फसेका व्यक्तीहरुको उद्दार गर्नु उसको मुख्य कर्तव्य पनि हो , तर प्रहरीले गर्दै आएका नियमित कामहरु समेत यसरी तस्बिर नै सार्वजनिक गरेर कारवाही थाल्नु नेपाल प्रहरीलाई काम गर, नत्र हामी चुप बस्दैनौ भनेर जवाफ दिएको रुपमा बुझ्नु पर्दछ। यो भन्दा अगाडिका आईजीपीहरुका पालामा प्रहरी संगठन यसरी थला परेको थिएन, सशस्त्रले त्यस्ता काममा आँखा नै लगाउन सकेको थिएन ,तुरुन्तै प्रहरीले एक्सन लिसक्थ्यो। अहिले त संगठनमा प्रमुख छन् भन्ने आभास नै भएको छैन।’ नेपाल प्रहरीका एक डिआईजीले भने।

    तर, आपराधिक गतिबिधी रोक्ने काम जुन संगठनले गरे पनि त्यसलाई राम्रो पक्ष नै मान्नुपर्ने उनी वताउँछन्।

    त्यसो त अधिकारका बिषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बिबाद चल्दै पनि आएको छ।

    यस्तो  व्यबस्था छ शसस्त्र प्रहरी नियमावली, २०७२ मा 

    परिच्छेद—८ सशस्त्र प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार
    सशस्त्र प्रहरी नियमावली, २०७२
    ५८. विशेष कामको सिलसिलामा खटिएका सशस्त्र प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार : (१) सशस्त्र प्रहरी अधिकृतले ऐनको दफा ६ बमोजिम खटिएको अवस्थामा कुनै व्यक्ति आपराधिक कृयाकलापमा संलग्न रहेको पाएमा त्यस्तो कृयाकलापमा संलग्न व्यक्ति वा त्यस्तो कृयाकलापसँग सम्बन्धित सामानलाई नियन्त्रणमा लिनु वा अपराध हुनबाट रोक्नु वा व्यक्ति, संस्था, भवन, स्थान, संरचना वा कामको सुरक्षा प्रदान गर्नु त्यस्तो सशस्त्र प्रहरी अधिकृतको कर्तव्य हुनेछ ।

    (२) उपनियम (१) बमोजिम नियन्त्रणमा लिइएको व्यक्तिको हकमा नियम १६३ बमोजिम र सामानको हकमा फेहरिस्त सहित यथासिघ्र स्थानीय अन्य प्रहरी वा सम्बन्धित अपराधको अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई सुम्पनु पर्नेछ ।

    ३) उपनियम (१) बमोजिम खटिएको सशस्त्र प्रहरी कर्मचारीलाई दिएको जिम्मेवारी पूरा गर्न नदिने गरी कसैले जोर जुलुम गर्ने, हात हतियार उठाई वा नउठाई हमला गर्ने वा कर्तव्य पालना गर्न असमर्थ बनाउने कार्य गरेमा वा त्यस्तो कार्य गर्ने प्रयत्न गरेमा यसरी खटिएको सशस्त्र प्रहरी कर्मचारीले आफ्नो जिउ वा आफुले सुरक्षा दिनुपर्ने व्यक्ति वा स्थानको सुरक्षा गर्न वा बचाउ गर्न वा पक्राउ गर्न तत्काल अन्तिम बल प्रयोग नगरी तोकिएको कर्तव्य पालना गर्न नसकिने अवस्था भएमा अन्तिम बल प्रयोग गर्न सक्नेछ ।

    (४) उपनियम (३) बमोजिम असल नियतले काम कारबाही गर्दा वा कर्तव्य पालनाको क्रममा बल प्रयोग गर्दा कुनै व्यक्तिको मृत्यु भएमा वा घाउचोट लागेमा त्यस्ता सशस्त्र प्रहरी कर्मचारी उपर नेपाल सरकारको स्वीकृत नभई मुद्दा चलाउन सकिने छैन ।

    ५९. काम, कर्तव्य र अधिकार तोक्न सक्ने : सशस्त्र प्रहरी महानिरीक्षकले ऐन, यस नियमावली तथा प्रचलित कानूनको अधीनमा रही मन्त्रालयको स्वीकृति लिई सशस्त्र प्रहरी कार्यालयका प्रमुख तथा अन्य सशस्त्र प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार तोकी आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेशको पालना गर्नु सम्बन्धित सबै सशस्त्र प्रहरी कर्मचारीको कर्तव्य हुनेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार