Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल प्रहरीको २८औं आईजीपीमा शैलेश थापा क्षेत्री

    नेपाल प्रहरीको २८औं आईजीपीमा शैलेश थापा क्षेत्री

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 5.6K
    SHARES

    काठमाडौं । सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८औं महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको छ । आज (मंगलबार) अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई आईजीपीमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

    प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार थापाको बढुवा गरिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलतालगायतका आधारमा थापालाई बढुवा गरिएको बताइएको छ ।



    थापाले २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । आफ्नो ब्याचबाट उनी १ नम्बरमा रहँदै आएका छन् । शक्तिकेन्द्रहरुको चर्को दबाबकाबीच एसएसपीबाट डिआईजीमा बढुवा गराउँदा तत्कालिन आईजीपी सर्वेन्द्र खनालले थापालाई पहिलो वरियतामा राखेका थिए । जसका कारण उनी अहिले सहजै आईजीपीमा बढुवा हुन सफल भए ।



    आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवाहदका कारण भोली (असार २४ गते) अनिवार्य अवकाश पाउँदैछन् ।

    आईजीपीका लागि दुई जना दाबेदार रहेका थिए । डीआईजीबाट एआईजी बढुवाको वरीयतामा १ नम्बरमा बढुवा भएका एआईजी तारणी लम्सालले पनि आईजीपी ज्ञवालीसँगै अवकाश पाउने भएपछि उनीपछिका थापा र हरी पालमध्येबाट सरकारले थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ ।

    हाल थापाले मानवश्रोत एवम् प्रशासन विभागको नेतृत्व सम्हालेका छन् भने पालले कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका छन् ।

    आईजीपी नियुक्तिमा यो पटक भने अलि फरक दृष्य देखियो । उनीहरुबीच विगतका प्रतिस्पर्धीजस्तो अस्वथ्य लडाइँ देखिएन । उनीहरु दुबैले आफूहरुमध्ये जसलाई आईजीपी बनाए पनि मिलेर अगाडि बढ्ने यस अघि नै बताइसकेका थिए । यद्यपी पाल पनि संगठनभित्र अब्बल अधिकृतका रुपमा चिनिन्छिन् ।

    को हुन् थापा ?
    पूर्व डिआईजी शम्भु थापाका छोरा हुन्, शैलेश थापा । भक्तपुरका स्थनिय हुन् थापा । प्रहरी संगठनभित्र थापाको बौद्धिक र इमान्दार अधिकृतको छवि छ । इन्स्पेक्टरमा सेवा प्रवेश गरेबाटै थापा आफ्नो ब्याचको पहिलो नम्बरमा रहन सफल हुँदै आएका छन् ।

    थापाको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् ।

    इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोक, एकडेमी र सचिवालयमा काम गरेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड गरेका छन् भने एकडेमी र सचिवालयमा पनि बसेका छन् ।

    प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि उनी कास्की र झापा जिल्ला प्रहरी प्रमुख बने । प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए । प्रवक्ता हुँदै डीआईजी भएका उनले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार