Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एसपी सरुवामा अख्तियार प्रमुखको हस्तक्षेप, रुपन्देहीको प्रमुख बने विवादित पोखरेल

    एसपी सरुवामा अख्तियार प्रमुखको हस्तक्षेप, रुपन्देहीको प्रमुख बने विवादित पोखरेल

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 9.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले बिहीबार ४९ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । सरुवा हुनेमध्ये १० एसपीले जिल्ला इन्चार्ज पाएका छन् ।

    सरुवामा सबैभन्दा आकर्षक जिल्ला मानिने रुपन्देहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी प्रवीण पोखरेलको सरुवा भएको छ  । अख्तियारमा बसेर धेरै प्रहरीको आँफै उजुरी हाल्दै जागिर खाइदिएको भन्दै पोखरेलको आलोचना हुँदै आएको छ ।



    एसपी पोखरेलले प्रहरीभित्र आफ्ना बिरोधी र प्रतिस्पर्धीलाई ठेगान लगाउनका लागि उजुरी हाल्न लगाउने र छानबिन गराउने गरेको उनीमाथि आरोप छ ।



    प्रहरीविरुद्ध परेका उजुरी पोखरेल निकट गिरोहले तुरुन्तै मिडियामा पत्र सहित सार्वजनिक गर्न थालेपछि अख्तियार भित्रको गोपनियतासमेत बाहिर आएकोमा प्रहरी संगठनभित्र उनको आलोचना हुँदै आएको छ।

    आयोगमा बसी आफ्नै संगठनका अधिकृत बिरुद्ध उजुरी हालेर त्यसको बारेमा मिडियामा दिने काम पोखरेलले गर्दै आएको एक पीडित प्रहरी बताउँछन् ।

    उनी अख्तियारको स्टीङ अप्रेसनका प्रमुख समेत हुन् ।  घुस डिल गरेकै आधारमा अपराध  महाशाखाका असई उमेश केसीलाई पक्राउ गरी मुद्दा चलाउने बिबादित कामसमेत उनीबाटै भएको थियो । जबकी अख्तियारले मुद्दा चलाउने भनेको घुससहित पक्राउ परेकालाई मात्रै हो ।

    यो त एक उदाहरण मात्रै हो । प्रहरीभित्र अख्तियारले मच्चाएको यस्ता प्रकरण धेरै छन् ।

    गलत काम गरी आफ्नै संगठनको बदनाम गरेको भन्दै तत्कालिन आईजीपी ठाकुर ज्ञवालीले पोखरेललाई  फिर्ता बोलाउन खोज्दा अख्तियारका प्रमुख आयुक्त नबिन घिमिरेको दबाबमा उनी अख्तियारमै बसेर त्यस्ता विवादित काम गर्दै आएका थिए।

    स्रोतका अनुसार अबकासको मुखमा रहेका अख्तियारका उनै प्रमुख आयुक्त  घिमिरेको दबाबमा पोखरेलको रुपन्देहीमा सरुवा भएको हो।

    लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनले आफ्नो चाकडी  र चाप्लुसी गर्ने प्रहरी अधिकृतलाई आकर्षक ठाउँमा सरुवा गर्न दबाब दिने गरेका थिए । नबिन घिमिरे पनि अख्तियार गएपछि सोही शैली अपनाए।

    यसअघि घिमिरेले अख्तियारमा कार्यरत एसपी हेम थापालाई रुपेन्देही पठाएका थिए । हृदय थापा पनि घिमिरेकै दबाबमा रुपेन्देहीको एसपी बनेर काम गरेका थिए ।

    रुपेन्देहीमा तीन बर्ष लगातार घिमिरेकै दबाबमा एसपीको सरुवा भएको छ। अहिलेका आईजीपी शैलेश थापा क्षत्रीले पनि घिमिरेको आदेशलाई नकार्न सकेनन्।

    स्रोतका अनुसार आइजीपी क्षत्रीले विवादित एसपी पोखरेललाई शुरुमा रुपेन्देही पठाउन इन्कार गरेका थिए। तर, घिमिरेको लगातारको दबाबसामु उनी  झुक्न वाध्य भएको प्रहरी स्रोत वताउँछ।

    त्यस्तै,सन्तोषसिंह राठौर सर्लाही, अपराध महाशाखाका एसपी होविन्द्र बोगटीको स्याङ्जा सरुवा भएको छ । त्यसैगरी राजेन्द्र धमला सप्तरी, तुलबहादुर कार्की नुवाकोट सरुवा भएका छन् । राजन अधिकारी सिन्धुपाल्चोक, सन्तोषकुमार भट्टराई पाल्पा, प्रवीणलाल श्रेष्ठ गुल्मी, प्रकाश मल्ल पूर्वनवलपरासी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार