Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दो

    कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दो

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 3K
    SHARES

    एजेन्सी। यूकेमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ र थुप्रै देशले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन्।

    अहिलेसम्म ४० वटाभन्दा बढी देशले यूकेबाट हुने आगमनमा रोक लगाएका छन्। युरोपेली सङ्घले एउटा साझा नीति बनाउने विषयमा वार्ता गरिरहेको छ।



    भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित बिरामी देखिएपछि स्वीडेनले डेनमार्कबाट गरिने यात्रामा प्रतिबन्ध लगाएको छ।



    कोरोनाभाइरसको नयाँ प्रकार झन् सङ्क्रामक छ। तर थप घातक रहेको प्रमाण फेला परेको छैन।

    यूकेको र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठनले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ।

    डब्ल्योएचओका आपत्‌कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो ‘नियन्त्रण बाहिर नरहेको’बताएका छन्।

    नयाँ प्रकारको भाइरस रोक्ने प्रयासमा यो महादेशको अधिकांश हिस्साले यूकेबाट हुने आगमनमाथि प्रतिबन्ध लगाइसकेको छ।

    फ्रेन्च सरकारले यूकेबाट आफ्नो देश आउने यात्रु तथा कार्गोमाथि प्रतिबन्ध लगाएको छ जसका कारण ब्रिटेनको डोभर बन्दरगाहका सेवाहरू प्रभावित भएका छन्।

    यूकेका प्रधानमन्त्री बोरिस जोनसनले व्यापार सेवा पुनः शुरू गर्ने विषयमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँसँग कुराकानी गरिरहेको भन्दै समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।

    ईयूमा आबद्ध २७ देश कसरी अगाडि बढ्ने भन्ने विषयमा ब्रसल्समा अधिकारीहरूले वार्ता गरिरहेका छन्।

    भारत, इरान, क्यानडा लगायत अरू थुप्रै मुलुकले पनि यूकेबाट हुने आगमनमा रोक लगाएका छन्।

    संयुक्त राज्य अमेरिकाले निर्णय गर्न बाँकी छ। तर ब्रिटिश एअरवेज र डेल्टाले न्यूयोर्कको जोन एफ केनेडी विमानस्थल जानका लागि यात्रुहरूले परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनुपर्ने अनिवार्य गरेका छन्।

    साउदी अरब, कुवैत र ओमानले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरिदिएका छन्।

    डेनमार्कका साथै अस्ट्रेलिया, इटली र द नेदरल्यान्ड्समा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ। बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार