Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कम्फर्टेबल भन्दाभन्दै विदेशी शक्तिबाट पनि एक्लिए प्रचण्ड !

    कम्फर्टेबल भन्दाभन्दै विदेशी शक्तिबाट पनि एक्लिए प्रचण्ड !

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं। माओवादी अध्यक्ष प्रचण्डले आफ्नो हैसियत बुझ्न थाल्नुभएको सङ्केतहरू देखापर्न थालेका छन् ।

    संसद् विघटनपश्चात भारत र पश्चिमा मुलुकको सहयोगका निम्ति सार्वजनिक आग्रह गर्नुहुने उहाँले संसद् पुनःस्थापनापश्चात भारतका निम्ति समेत ‘कम्फर्टेबल’ सरकार गठन गर्ने अभिव्यक्ति दिनुभएको थियो । संसद् पुनःस्थापना भएको महिना दिन बित्नै लाग्दा प्रचण्डले ‘अरुलाई खेलाएर मात्र सफलता हासिल गर्न नसकिने रहेछ’ भन्ने आत्मस्वीकार गर्नुभएको छ ।



    वास्तवमा प्रचण्डले पशुपतिनाथको पूजारी र सेनापति बदल्न नसकेपछि आफ्नो असली औकात महसूस गर्नुभएको भए नेपाली राजनीतिले बेग्लै बाटो लिन सम्भव हुन सक्थ्यो । हरेक कदममा क्रमशः असफल हुँदै गएपछि अब प्रचण्डले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, जातियतामा आधारित समावेसी, समानुपातिक प्रणाली आफूले स्थापना नगरेको थाहा पाउन र, सोबमोजिमको अभिव्यक्ति दिन मात्र बाँकी रहेको ठान्न थालिएको छ ।



    पश्चिमा इसाई शक्ति र सोनिया ताकतको आड लिएर नेपालमा भएको उथलपुथललाई आफ्नै शक्तिको परिणाम ठान्ने भ्रमबाट प्रचण्ड पूर्ण मुक्त नभएसम्म उहाँका भावी कदम सही ढङ्गले अघि बढ्न सक्ने देखिएको छैन । देशभित्र र बाहिरका विभिन्न शक्ति र व्यक्तिलाई आफूले प्रयोग-उपयोग गरिरहेको र, यसैगरी सम्पूर्ण सत्ताप्राप्तिको गन्तव्यसम्म पुग्न सकिने प्रचण्डको विश्वास अब धराशायी भएको छ ।

    नेपाली राजनीतिमा विशेष प्रभाव पार्ने पश्चिमा मुलुक, भारत र चीन तीन वटैको विश्वास प्रचण्डले करिव गुमाइसक्नुभएको बुझिन्छ । सम्पूर्ण सत्ताको मालिक बन्न भारत र पश्चिमा मुलुकलाई उपयोग गर्ने र सत्ता प्राप्त भइसकेपछि उत्तर कोरिया झैँ चीनसँग मात्र निकट भएर बस्ने प्रचण्डको राजनीतिक चालबारे भारत र पश्चिमा शक्तिमा कुनै किसिमको भ्रम नरहेको देखिँदै छ ।

    जो–कसैलाई उपयोगितावादी सिद्धान्तका आधारमा व्यवहार गर्ने र, एमसीसीबारे स्पष्ट दृष्टिकोण नराख्ने कुराले चीनसमेत प्रचण्डप्रति सशंकित भइरहेको बताइन्छ । यसरी प्रचण्ड चीन, अमेरिका र भारत तीनवटै मुलुकको विश्वास गुमाएको स्थितिमा पुगेकोले नेपालमा उहाँका मसिना इच्छा पनि पूरा हुन छोडेको छ ।

    केही महिना अघिसम्म केपी ओलीलाई पन्छाएर आफू प्रधानमन्त्री बन्न अग्रसर प्रचण्ड अहिले केपीलाई हटाएर प्रधानमन्त्री बनिदिने मान्छेको खोजीमा द्रुत गतिका साथ सक्रिय हुनुभएको छ ।

    त्यसनिम्ति कहिले शेरबहादुर देउवा त कहिले क्षेत्रियतावादी बाबुराम भट्टराईसँग अनुनयविनय गर्दै हुनुहुन्छ । यही बीचमा विभिन्न सुत्रमार्फत सम्पर्क गरी पश्चिमा मुलुक र भारतलाई आफ्नो अनुकुल बनाउने प्रयास पनि प्रचण्डबाट भइरहेको छ । तर अहिलेसम्म उहाँका कुनै पनि प्रयास सफल हुन सकेका छैनन् ।

    उहाँले सजिलैसँग सक्ने भनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने हो, तर त्यसपछि उत्पन्न हुने परिस्थिति झनै प्रतिकुल हुन सक्छ भन्ने सम्भवतः प्रचण्डले बुझ्नुभएको छ । नयाँ सरकार गठन हुन नसकिरहेको यस स्थितिमा सरकारलाई दिएको समर्थन फिर्ता लिइए प्रधानमन्त्री विश्वासको मत लिन संसद्मा जाने र विश्वासको मत प्राप्त नभए पुनः संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निश्चितप्रायः छ । यही सम्भावनलाई दृष्टिगत गरेर हुन सक्छ प्रचण्डबाट सरकारलाई दिएको समर्थन फिर्ता लिन हतार गरिएको छैन ।

    देशभित्र आफ्नो अनुकुल परिस्थिति निर्माण गर्न पनि विदेशी शक्तिहरू दाहिना बन्नुपर्छ भन्ने जानकारी प्रचण्डलाई छ । कम्तिमा भारत र पश्चिमाहरूको साथ नभएसम्म हलचल गर्न सकिँदैन भन्ने बुझ्नुभएका प्रचण्डले अनेकौँ कोशिस गरेर पनि आफ्नो प्रयासमा सफलता प्राप्त गर्न सक्नुभएको छैन ।

    चीनको साथ रहेको अवस्थामा पनि उक्त साथले निर्णायक प्रभाव पार्न नसक्ने भएकोले प्रचण्डबाट भारत र पश्चिमा शक्तिलाई विश्वासमा लिन अनेकौँ प्रयास भइरहेको छ । राजनीतिक रूपले जीवन र मरणको स्थितिमामा रहनुभएका प्रचण्ड चरम रक्षात्मक अवस्थामा पुग्नुभएको छ । यो लडाइँमा पराजय हुँदा जीवनमा कहिल्यै कारावास नभोग्नुभएका उहाँले कठिन दिनहरूको सामना गर्नुपर्ने प्रबल सम्भावना छ । – घटना र बिचारबाट साभार

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार