Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ऋषि कट्टेलसँग पार्टी एकता गरेर नाम नेकपा नै राख्ने माओवादी केन्द्रको तयारी

    ऋषि कट्टेलसँग पार्टी एकता गरेर नाम नेकपा नै राख्ने माओवादी केन्द्रको तयारी

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 5.8K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने भएको छ । बैठक भोलि बिहान ११ बजे फेरि पेरिसडाँडामा बस्नेछ ।

    आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको नाम फेर्ने, ऋषि कट्टेलको नेकपासँग एकता गर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेण्डा पेस भएका छन् ।



    बैठकमा पेश भएका एजेण्डाहरमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र पार्टीको नाम परिवर्तन साथै (कम्युनिष्ट पार्टीहरुबीचको एकता) रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।



    आजको प्रमुख एजेण्डा एमालेमा लागेका नेताहरुलाई कारवाही र पार्टीको नाम फेर्ने रहेको  प्रवक्ता  श्रेष्ठले बताए।

    त्यस्तै, आज विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

    रिपोर्टिङको क्रममा उनीहरू एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए ।

    बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए ।
    आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन ।

    बैठकमा सहभागी नेताहरुका अनुसार ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने, नेपाल कम्युनिष्ट पार्टीका पछाडि केही जोड्ने वा नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा समेत छलफल भएको छ ।

    पछिल्लोपटक एकीकृत माओवादीले विभिन्न समूहसँग एकता गर्दै २०७२ जेठ ६ मा पार्टीको नाम बदलेर माओवादी केन्द्र बनाएको थियो । त्यसअघि २०६५ मा तत्कालीन माओवादी र एकता केन्द्र मसालबीच एकतापछि प्रचण्डले आफू नेतृत्वको पार्टीको नाम माओवादी केन्द्र बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार