Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • के भयो चपली हाइटमा ?

    के भयो चपली हाइटमा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले कार्यदल बनाएर पार्टी विवाद समाधान गर्ने सहमति बनेको हो ।

    सहमतिपछि बिहीबार नै सांसद पदबाट राजीनामा दिने तयारीमा रहेका नेपाल समूह नेता तत्कालका लागि पछि हटेका छन् । ४ घण्टा लामो छलफलमा पार्टी विवाद ‘कसरी समाधान गर्ने ’ भन्ने विषयमा गम्भीर रूपमा लिँदै ओली–नेपाल कार्यदल बनाउने निष्कर्षमा पुगेका हुन् ।



    एमाले वरिष्ठ नेता नेपालले सञ्चारकर्मीसग ‘कार्यदल बनाएर पार्टीभित्रको समस्या समाधान गरिने सहमति भएको’ प्रस्ट पारे । सांसद पदबाट राजीनामा दिने प्रसंग दुई÷चार दिनलाई टरेको पनि उनले उल्लेख गरे । ‘मैले प्रधानमन्त्रीसमक्ष राखेको ६ बुँदे सर्तसहितको पत्र विषयमा छलफल भयो, फागुन २८ गतेको निर्णय फिर्ता र जेठ २ को अवस्थामा फर्काउन विधि बनाएर जाने सहमतिनजिक पुगेका छौं,’ नेपालले भने, ‘यसका लागि कार्यदल बनाउने र विभिन्न तहमा छलफल गरेर समाधान गर्ने सहमति भएको छ ।’



    उनका अनुसार २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वमा फर्किनुपर्ने र २८ फागुनको निर्णय फिर्ता लिनुपर्ने प्रस्तावमा पार्टी अध्यक्ष ओली ‘सकारात्मक’ देखिएका छन् ।

    छलफलअघि ओली सन्देशसहित बिहीबार बिहानै अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । पौडेल– नेपाल छलफलपछि एमाले स्थायी कमिटी बैठक बसेर यसअघि गरिएका कारबाही फुकुवा गर्ने निर्णय गरिएको थियो । यसपछि मात्रै ओली–नेपाल छलफलको वातावरण बनेको हो ।

    एमाले नेता गोकर्ण विष्टले यसअघि गरिएको कारबाही फुकुवा गरेपछि पार्टी विवाद समाधान गर्ने वातावरण बनेको बताए । शीर्षनेताबीच छलफल सकारात्मक भएको बताउँदै उनले विवाद क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

    ओली–नेपाल सहमतिले पार्टी विवाद समाधान हुने देखिएको छ । कार्यदलले सबै काम गर्ने भएपछि विवाद समाधान हुने निश्चित भएको छ । कार्यदलमा ओली र नेपाल दुवै समूहका नेता रहने भए पनि ‘कति सदस्यीय बनाउने भन्नेबारे खुलाइएको छैन ।

    पार्टी विवाद समाधान गरेर एकता जोगाउन विभिन्न तहमा पटकपटक छलफल हुँदै आएको छ । शीर्षका साथै दोस्रो तहका नेताबीचसमेतको छलफलपश्चात् सहमतिको वातावरण बनेको हो । ओली–नेपाल छलफलअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार नेता नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय भएको छ । पार्टी एकता रक्षाका लागि विगत बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै बैठकले निलम्बन फुकुवा गरेको हो ।

    बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखापर्ने परिस्थिति सन्र्दभमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको छ ।

    त्यस्तै, बाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै पार्टी झण्डा तीन दिन झुकाउने निर्णयसमेत बैठकले गरेको छ । (राजधानी दैनिकबाट)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार