Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इन्स्पेक्टर मृत्‍यु र तस्करी प्रकरणमा मुछिए डिआईजी आचार्य, तत्काल बर्खास्त गर्न सांसद कँडेलको माग

    इन्स्पेक्टर मृत्‍यु र तस्करी प्रकरणमा मुछिए डिआईजी आचार्य, तत्काल बर्खास्त गर्न सांसद कँडेलको माग

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 5.7K
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यलाई तत्काल कारबाही गर्न सांसदले माग गरेका छन्। विभिन्न आरोपहरु लगाउँदै नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आचार्यलाई कारबाही गर्न माग गरेका हुन्।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै इलाका प्रहरी कार्यालय नवलपरासी बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको कारक भएको र भष्ट्राचार निवारण ऐन २०६९ को दफा २ क ७१८ बमोजिम भष्ट्राचार हुने कसुर समेत गरेको भन्दै डिआइजीलाई कारबाहीको माग गरेका हुन्।



    प्रहरीमा आचार्यको बिगतको छवी पनि राम्रो मानिदैन। ओमबिक्रम राणा आईजीपी छँदा चालचलन शाखामा कार्यरत रहेको बेला मेनपावर कम्पनीहरुको स्वार्थमा चालचलन रिपोर्ट दिने गरेको उनीमाथि आरोप लागेको थियो।



    चालचलनको रिपोर्ट सन्तोष उप्रेती (पछि रातो पासपोर्ट बिक्रीकाण्डमा परेका) सँग कनेक्सन गरी घुस लिएर दिने गरेको बिषयमा पनि संचारमाध्यमले उठाएका थिए । आचार्य झापाको प्रहरी प्रमुख हुँदा डीएसपी देवी पौडेललाई लगेर उनीमार्फत् तस्करीबाट असुली गरी बदनाम भएका थिए।आचार्यलाई केही दिन अघि मात्र गृहबाट सरुवा भएका सचिब महेश्वर न्यौपाने र नेकपा एमालेका महासचिव बिष्णु पौडेलको स्वार्थमा लुम्बिनी प्रदेशको प्रहरी प्रमुख बनाएर पठाइएको थियो ।

    सांसद कडेँलले संसदमा भनेको कुरा जस्ताको त्यस्तैः

    साउन २३ गते नवलपरासी पश्चिम बर्दघाटमा प्रहरी चेकजाँचका क्रममा ५ सय ९५ थाम मोबाइल सहित २ जनालाई पक्राउ गरेको थियो। प्रदेश नम्बर ३ ०१ ०२३ च ५५४४ को सेतो पिकअपमा उनीहरुले अवैध मोबाइल तस्करी गरेर ल्याएका थिए।

    उनीहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटमा आवश्यक कारवाहीका लागि राखिन्छ। चोरी पैठारी गरेको ल्याएको मोबाइल र सवारी साधानलाई महेशपुर भन्सार पठाउने प्रक्रिया पूरा नहुँदै ३ घण्टापछि पक्राउ व्यक्तिलाई छाडिएको थियो।

    प्रहरीले छोडेपछि लुम्बिनी प्रदेशको सिमाना काट्दै दाउन्ने हुँदै गण्डकी प्रदेशको दुम्कीबासमा इलाका प्रहरी कार्यालय कावासोतीले चेकजाँच गर्ने क्रममा अघिल्लो दिन बर्दघाट प्रहरीले छोडिदिएको मोबाइलसहित २ जना पक्राउ पर्छन्।

    जिल्ला प्रहरी कार्यालय कावासोतीले सोधपुछ गर्दा घुमुवा प्रहरी सञ्जीव धमलाको बर्दघाट बाणिज्य बैंकको खातामा १३ लाख रुपैयाँ बुझाएपछि छाड्ने निर्देशन आएपछि छाडिएको बताउँछन्। घटना सार्वजनिक भएपछि ती प्रहरी जवानलाई निलम्बन गरियो। साउन २२ गते जिल्ला प्रहरी कार्यालय कावासोतीले कानुनी प्रक्रिया पूरा गरी पक्राउ गरिएका सामान र व्यक्तिलाई महेशपुर भन्सारमा बुझाएको थियो।

    पक्राउ गरिएको मोबाइलको मूल्य १ करोड ३३ लाख मूल्याङकन गरिएको छ। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्यले नवलपरासी जिल्ला प्रहरी कार्यालयमा एसपी भई काम गरेको अनुभव पनि रहेको छ। उनले आफू मातहत रहेका प्रहरी चौकीबाट मासिक निश्चित रकम उठाउने गरेका थिए।

    बर्दघाट इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेले ८ वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको र ८ वठा पुरस्कार पाएका थिए। वाग्लेले बर्दघाट क्षेत्रमा हुने चोरी पैठारी रोकी १ करोड १७ लाख राजस्व दाखिला गरेका कर्तव्यनिष्ठ इमान्दार प्रहरी भएको थिए।

    साउन २१ गते घुस लिएर मोबाइल छाडेको बिषय कसरी सार्वजनिक गरेको भनेर प्रहरी निरीक्षक वाग्लेमाथि माथिल्लो तहबाट मानसिक यातना दिएको र साउन २५ गते आफ्नो निलम्बनको पत्र आएपछि साँझ ६ बजेपछि आफ्ना मातहतका प्रहरीलाई जम्मा पारेर उनले–‘आफैले निर्देशन दिएर छोडाउने, अनि पछि मलाई नै फसाउने, कसैमाथि विश्वास गर्नुहुँदैन भाइहरू’ भनेर साँझ साढे ७ बजे कालो रंगको ब्याग लिई प्रहरी कार्यालयबाट निस्किएका थिए। प्रहरी कार्यालयबाट २ सय मिटर अगाडि राजमार्ग पुगेपछि लु १४ प ८७५८ निलो रंगको पल्सर बाइकको ठक्करबाट उनको निधन भयो।

    कँडेलले एक निष्ठावान् प्रहरीलाई त्यस्तो अवस्थामा पु-याइएकोमा दुःख व्यक्त गरे। साथै, २ वर्ष प्रहरीमा सेवा गरेको इमान्दार प्रहरी भएको बताउँदै उनको लागि न्यायको माग गरे। मानसिक तनावमा रहेका उनले बाटो काट्दा सवारी दुर्घटनाबाट मृत्यु भएको देखिए पनि लुम्बिनी प्रदेश प्रमुख आचार्यले दिएको तनावका कारण मानसिक सन्तुलन गुमाई प्रहरी निरिक्षक वाग्लेको ज्यान गएको उनले दावी गरे।

    उनले मुलुकी अपराध संहिता २०७४ को दफा १ सय ८५ को कसुर र तस्करी समेतको कसुरमा तत्काल निलम्बन गरी उच्चस्तरीय छानविन गरी तस्करी, आर्थिक लेनदेन समेतको कलडिटेल निकाली कारवाहीका लागि उच्चस्तरीय छानविन समिति बनाउन सभामुख सापकोटालाई आग्रह गरे।

    यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घटनाको छानबिन गर्नका लागि संसदीय समिति बनाउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। ‘संसदमा उठेको विषय र डिआइजी आचार्यमाथि लागेको आरोपहरु गम्भीर भएकोमा गृहमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ,’ स्रोतले भन्याे, ‘छिट्टै संसदीय छानबिन समिति गठन गर्ने तयारी उहाँले गर्नुभएको छ।’

    प्रदेशकै प्रहरी प्रमुखमाथि यस्ता गम्भीर आरोपहरु लाग्नुले प्रहरीमाथिको जनविश्वास गुम्ने खतराबारे गृहमन्त्री खाँण जानकार रहेको र डिआइजी आचार्यमाथि लागेको तस्करी, आर्थिक लेनदेनलगायतका विषयमा छानबिन गराउन गृहमन्त्रीले प्रहरी प्रधान कार्यालयलाई पनि निर्देशन दिएको स्रोतको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार