Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • देशभर कांग्रेस वडा अधिवेशनको चहलपहल

    देशभर कांग्रेस वडा अधिवेशनको चहलपहल

    अनलाइन नेपाल
  • शुक्रबार, १८ भाद्र २०७८
  • 1.4K
    SHARES

    तस्बिर :रासस

    काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ-नगर वडा अधिवेशन प्रारम्भ भएको छ ।

    कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अधिकांश जिल्लामा आज वडा अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।



    कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेताकार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन् । कतिपय वडाहरुमा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडाहरुमा निर्वाचन प्रक्रिया भइरहेको समितिले जनाएको छ तर कति वडाहरुमा आज निर्वाचन सम्पन्न भयो भन्ने तथ्याङ्क साँझसम्म मात्र उपलब्ध हुनेछ ।



    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ-नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए ।

    करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

    मुलुकभरका सबै छ हजार सात सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार दुई सय एक पदाधिकारी र सदस्य एक लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। यसबाहेक मनोनीत हुनेको सङ्ख्या थप रहेको छ ।

    त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

    महाधिवेशनअन्तर्गत गाउँ-नगर वडा अधिवेशन आज भदौ १८, गाउँ-नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।

    यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

    मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार