Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • काँग्रेस महाधिवेशन: प्रदेश २ मा ७४ पदका लागि १८० जनाको उम्मेदवारी

    काँग्रेस महाधिवेशन: प्रदेश २ मा ७४ पदका लागि १८० जनाको उम्मेदवारी

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.6K
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश २ को नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन तालिका अनुसार बिहान ८ बजेदेखि निर्वाचन हुने भनिएको थियो । तर केही कारण बस निर्वाचन कार्यतालिका परिवर्तन हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।

    उम्मेदवारी दर्ताको समय राति ८ बजेसम्म राखिएकाले बुधबार बिहान ७ः३० बजेसम्म उम्मेदबारी फिर्ताको समय निर्धारण गरिएको निर्वाचन समितिका अधिकृत प्रह्लाद गौतमले जानकारी दिए । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि निर्वाचन शुरु हुने उनले बताए ।



    निर्वाचनमा दुई प्यानलले उम्मेदवारी दिएका छन् । सभापतिमा रामसरोज यादव र कृष्णा राय यादवले उम्मेदवारी दिएका छन् । प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका रामसरोज नेता विमलेन्द्र निधी निकट हुन् भने कृष्णा पार्टी सभापति शेरबहादुर देउवा निकटका नेता हुन् ।



    रामसरोजलाई निधीका साथै डा. शेखर कोइराला समूहले समेत समर्थन गरेका छन् । निधी र कोइराला समूहबाट रामसरोजको प्यानल चुनावि मैदानमा उत्रिएका छन् ।

    रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका बिनोद खनालले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रदेश सांसद समेत रहेका सिरहाका नेता नरेश यादव र सर्लाहीका हरेस महतोले उम्मेदवारी दिएका छन् ।

    सहमहामन्त्रीमा पर्साका अरबिन्द अमात्य, महोत्तरीका विनोद यादव र महिला सहमहामन्त्रीमा बाराकी निर्मला सुवेदीले उम्मेदवारी दिएका छन् ।

    कृष्णा यादवको प्यानलबाट उपसभापतिमा बाराका चन्द्रशेखर यादव र प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री समेत रहेका सर्लाहीका नेता वीरेन्द्र सिंहले उम्मेदवारी दिएका छन् ।

    सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठले महामन्त्रीमा उम्मेदवारी दिँदा सहमहामन्त्रीमा सप्तरीका पर्शुराम चौधरी, बाराका जयनारायण यादव र महिला सहमहामन्त्रीमा सप्तरीकी रिता यादवले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा उम्मेदवारी दिएका पर्शुराम सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

    निर्वाचन समितिका अनुसार ७४ पदका लागि १ सय ८० जनाको उम्मेदवारी परेको छ ।आ–आफ्ना उम्मेदवारलाई जिताउनका लागि नेताहरु जनकपुरधाम आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार