Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • करौडौं कर छल्नेको बचाउ गर्दै राजस्व अनुसन्धान : कारबाहीका लागि आनाकानी, आन्तरिक राजस्वको आपत्ति

    करौडौं कर छल्नेको बचाउ गर्दै राजस्व अनुसन्धान : कारबाहीका लागि आनाकानी, आन्तरिक राजस्वको आपत्ति

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 2.8K
    SHARES

    काठमाडौं – करोडौं मूल्य बराबरको राजस्व हिनामिना गर्नेलाई पनि कारबाही गर्न राजस्व अनुसन्धान विभागले आनाकानी गर्ने गरेको पाइएको छ। यसबारे आन्तरिक राजस्व विभागले पटकपटक ध्यानाकर्षण गराउँदा पनि अनुसन्धान विभागले बेवास्ता गर्दै आएको बताइएको छ।

    राजस्व अनुसन्धनको लापरवाही नक्कली स्टिकर प्रकरणले उदांगो बनाएको छ। भैरहवाबाट २३ दिनअघि झन्डै साढे २ करोड रुपैयाँ बराबरको नक्कली स्टिकर बरामद घटनाका अभियुक्तलाई कारबाही गर्न राजस्व अनुसन्धान विभागले आनाकानी गर्दै आएको पाइएको छ।



    आन्तरिक राजस्व विभागले यो विषयमा राजस्व अनुसन्धान विभागको ध्यानाकर्षण गराएको भए पनि राजस्व अनुसन्धानका महानिर्देशक रामप्रसाद आचार्यले यसलाई गम्भीर रूपमा नलिएको स्रोतको दाबी छ। यो विषयलाई लिएर आन्तरिक राजस्वका महानिर्देशक शोभाकान्त पौडेल र राजस्व अनुसन्धानका महानिर्देशक आचार्यबीच खटपट बढेको पनि स्रोतको दाबी छ।



    राजस्व अनुसन्धान एक अर्धन्यायिक निकाय हो। आन्तरिक राजस्व विभाग भने नियामक र प्रवद्र्धकका रूपमा काम गर्ने गर्छ। यता, राजस्व अनुसन्धान विभागसँग सशस्त्र प्रहरी तैनाथ हुन्छ। सशस्त्र प्रहरीले राजस्वसँग सम्बन्धित घटनाका अभियुक्त, बरामद सामान राजस्व अनुसन्धान विभागमा बुझाउने गर्छ।

    सशस्त्र प्रहरी बल नम्बर २७ गण रूपन्देही मातहतको बोर्डर आउट पोस्ट (बीओपी)बाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको नेतृत्वमा खटिएको नौ जनाको मोबाइल टोलीले ५ भदौको राति सिद्धार्थनगर नगरपालिका–३ दरखसवास्थित सहिद अन्सारीको घरबाट आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर ८० रोल बरामद गरेको थियो।

    जसमा एक रोलमा ३ हजार वटा थिए। बरामद नक्कली स्टिकर २ लाख ४० हजार रहेको र बरामद स्टिकरबाट आयकरअन्तर्गत १० लाख, मूल्य अभिवृद्धि करअन्तर्गत ३१ लाख ६३ हजार र अन्तःशुल्कबापतको १ करोड ९४ लाख गरी २ करोड ३५ लाख ६३ हजार रुपैयाँ छली हुने देखिएको राजस्व अनुसन्धानले जनाएको गणका एसपी राजेश उप्रेतीको भनाइ थियो।

    नक्कली स्टिकर बरामद गर्ने क्रममा सशस्त्र प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–३ दरखसवा बस्ने २३ वर्षीय सहिद अन्सारी र सोही ठाउँ बस्ने २४ वर्षीय अमानत अलीलाई पक्राउ गरेको थियो। उनीहरूबाट लु२च २५० नम्बरको गाडीसमेत बरामद भएको थियो।

    स्रोतका अनुसार, राजस्व अनुसन्धानका महानिर्देशक आचार्यले अनुसन्धान कार्यलाई प्रभावकारी रूपमा अघि नबढाएपछि अन्तरिक राजस्व विभागले दुई जना उपसचिव बुटवल पठाएर त्यसबारे जानकारी लिएको थियो। ती दुई उपसचिवले राजस्व अनुसन्धान विभागका महानिर्देशक आचार्यले नै अनुसन्धान कार्य अघि नबढाएको रिपोर्टिङ गरेको स्रोतले बतायो।

    नक्कली स्टिकर ल्याउने उद्योग भैरहवाको क्रिस्टल डिस्टिलरी र उद्योगका मालिक फुलसिंह क्षत्री हुन्। उद्योगी क्षत्रीसँगको साँठगाँठका कारण राजस्व अनुसन्धानका महानिर्देशक आचार्यले अनुसन्धान अघि नबढाएको आन्तरिक राजस्वको ठहर छ।

    स्रोतका अनुसार अनुसन्धान र छानबिन प्रक्रिया अघि नबढेको भन्दै सोमबार दिउँसो आन्तरिक राजस्वका महानिर्देशक पौडेलले राजस्व अनुसन्धानका महानिर्देशक आचार्यलाई फोनमार्फत जानकारी लिएका थिए। पौडेलले यति ठूलो प्रकरणमा किन अनुसन्धान ढिलाइ भएको भनेर प्रश्नसमेत गरेका थिए। पौडेलले सो उद्योगमाथि आगामी दिनमा कुनै पनि अन्तःशुल्कको कारोबार गर्न नसक्ने गरी फाइल तयार गर्नसमेत भनेको, जवाफमा आचार्यले अनुसन्धान भइरहेको भन्दै उम्किने प्रयास गरेको बताइएको छ।
    राजस्व अनुसन्धानका महानिर्देशक आचार्यमाथि अन्तरिक राजस्वलाई धक्का लगाउने अन्तःशुल्क चुहावटको अन्य विषयमाथि समेत गम्भीर नभएको अन्तरिक राजस्व विभागको आरोप छ।

    देशको राजस्व अपचलन रोक्ने र संकलन गर्ने सरकारी निकायबीचको मनमुटावले अन्ततः करछलीलाई प्रश्रय मिल्ने सजह अनुमान गर्न सकिन्छ। सरकारी निकायकै मिलोमतोमा करछलीको घटना बढ्दै गरेको आरोप लाग्दै आइरहेका बेला राजस्व अनुसन्धान विभागले दोषीलाई कारबाही गर्न तत्परता नदेखाउनुले यसमा थप बल पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार