Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतीय नागरिक राधेश्याम सराफले यसरी कब्जा गरे हायात होटल

    भारतीय नागरिक राधेश्याम सराफले यसरी कब्जा गरे हायात होटल

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 4.6K
    SHARES

    काठमाडौं। नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आएका भारतीय नागरिक सराफ, उनका दुई छोरा र श्रीमतीले अफशोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो ।

    सराफमाथि नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीका नाममा दर्ता गरेको, नेपाली स्रोतमाथि अनियमित दोहन गरेको र गैरकानूनी ढंगले सरकारको शेयर हत्याएको आरोप लागेको छ ।



    बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्दा दोब्बर भन्दा बढी लागत देखाएर अनियमितता गरेको आरोप सराफमाथि छ । यो विषयमा संघीय संसद, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयले समेत अध्ययन गरेर अनियमितता भएको प्रतिवेदन तयार पारेका छन् ।



    खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) को ‘प्यान्डोरा पेपर्स’का गोप्य कागजातले सराफ तथा उनको परिवारले अफशोर कम्पनी मार्फत शंकास्पद कारोबार गरेको खुलासा गरेको हो । सराफले ब्रिटिश भर्जिन आइल्याण्डस्थित पिग्नोलो लिमिटेडमा लगानी गरेको कागजातहरूले देखाउँछन् ।

    आईसीआईजेबाट प्राप्त कागजातहरूका अनुसार सराफ भारतीय नागरिक हुन् । कागजातहरूमा उनी बस्ने ठेगाना र पासपोर्ट जारी भएको स्थान हङकङ उल्लेख छ । पिग्नोलो कम्पनी बैंक, बीमा वा पुनर्बीमा, म्युचुअल फन्ड लगायत व्यवसाय गर्ने गरी दर्ता भएको देखिन्छ । यो कम्पनीमा ब्रिटिश भर्जिन आइल्याण्डमा रहेको इलनबर्ग ग्लोबल एसको पनि लगानी छ ।

    यूरोपेली मुलुक लिक्चेन्स्टाइनको एलईडी सर्भिस स्टाब्लिसमेन्ट कम्पनीमा इलनबर्गको १०० कित्ता शेयर छ ।अफशोर कम्पनीमा गोप्य लगानी गर्ने काममा राधेश्यामका दुई छोरा र श्रीमतीको पनि संलग्नता देखिन्छ । प्यान्डोरा पेपर्सका अनुसार राधेश्यामका कान्छा छोरा उमेश सराफले क्यारेबियन समुद्र तटमा रहेको मध्य अमेरिकी मुलुक बेलिजमा सन् २००६ मा ‘द डेभिटा ट्रष्ट’ नामक कम्पनी खोलेको भेटिएको छ । उनका जेठा छोरा अरुण सराफले एकल स्वामित्वमा सन् २००६ मा बेलिजमै ‘द भरुनिसा ट्रष्ट कम्पनी’ खोले । राधेश्यामका यी दुवै छोरा भारतीय नागरिक रहेको आईसीआईजेबाट प्राप्त कागजातहरूले देखाउँछन् ।

    द डेभिटा ट्रष्ट र द भरुनिसा ट्रष्टमा राधेश्यामका छोराहरूको लगानी रहेको देखिने कागजातहरूलाई काठमाडौंस्थित भारतीय दूतावासले ‘कागजातहरूमा भएको विवरण तथा सामग्रीको कुनै जिम्मेवारी नलिने’ भन्दै प्रमाणीकरण गरिदिएको छ । कम्पनी खोल्ने काममा बेलिजकै अल्कोगल नामक ल फर्मले सहजीकरण गरिदिएको हो ।१८ मार्च २०१३ मा भएको एउटा सहमतिपत्र अनुसार अर्को ट्याक्स हेभन मुलुक मरिससमा राधेश्याम र उनकी श्रीमती रत्ना सराफले सराफ होटल्स लिमिटेड खोलेको पाइएको छ । त्यही सहमतिपत्र अनुसार १० जनवरी २००७ मै राधेश्याम र उनकी श्रीमती रत्नाले कम्पनीको शेयर उनका छोरा अरुणको स्वामित्वमा रहेको द भरुनिसा ट्रष्टमा रूपान्तरण अर्थात् बिक्री गरेको देखिन्छ ।

    सराफ परिवारले ट्याक्स हेभन मुलुकमा खोलेका कम्पनीहरू उनीहरूकै लगानी रहेका भारतका विभिन्न कम्पनीसँग समेत अन्तरसम्बन्धित छन् । सन् २०११ मार्चमा भएको एउटा निर्णय अनुसार सराफ होटल्स लिमिटेडको एक लगानीकर्ता कम्पनी भारतको मुम्बईस्थित जुनिपर होटल्स प्रालि र सन् २०१० अक्टोबरमा भएको निर्णय अनुसार अर्को लगानीकर्ता भारतको मुम्बईस्थित चार्टर्ड होटल्स प्रालि रहेको देखिन्छ ।

    त्यस्तै सन् २०१० को जनवरीमा एजेन्ट कम्पनी अल्कोगलले स्ट्याण्डर्ड चार्टर्ड बैंकका नाममा पत्र लेख्दै सराफ होटल्स इन्भेष्टमेन्ट लिमिटेडमा द भरुनिसा ट्रष्टको पूरै स्वामित्व रहेको उल्लेख गरेको छ ।

    आईसीआईजेबाट प्राप्त गोप्य कागजात अनुसार राधेश्यामले भरुनिसालाई एक अमेरिकी डलरका दरले २ हजार ६५० कित्ता साधारण शेयर बिक्री गरेका छन् र, यसबाट प्राप्त रकम सराफ होटल्स लिमिटेडका नाममा भुक्तानी गरिएको छ । सोही परिमाणकै साधारण शेयर उनकी पत्नी रत्नाले पनि भरुनिसालाई बिक्री गरेकी छन् ।

    शुरूमा सराफ होटल्स लिमिटेडले राधेश्याम र उनीका श्रीमती रत्नाका नाममा कुल ५ हजार ३०० कित्ता शेयर जारी गरेको थियो । त्यसपछि उनीहरूले सराफ होटल्सको शेयर लगानीकर्ताका रूपमा द भरुनिसा ट्रष्टलाई ऋण बापत केही रकम दिए । यस्तै, राधेश्याम र उनकी पत्नीले द डेभिटा ट्रष्टमा एक अमेरिकी डलरका दरले पाँच–पाँच हजार साधारण शेयर हस्तान्तरण गरेको पाइएको छ ।

    नेपालका होटलमा अफशोरबाटै विदेशी लगानी

    ब्रिटिश भर्जिन आइल्याण्ड, बेलिज, मरिसस जस्ता ‘ट्याक्स हेभेन’ मुलुकमा कम्पनी खोलेका सराफ र उनका परिवारका सदस्यले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा अर्को ट्याक्स हेभन मुलुक हङकङबाट विदेशी लगानी भित्र्याएको देखिन्छ ।

    तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आर्थिक वर्ष २०७३र७४ को २१औं वार्षिक प्रतिवेदन अनुसार उक्त कम्पनीको सञ्चालक समितिमा राधेश्याम सराफ, राधेश्यामका छोरा अरुण, नाति बरुण र उमेश साथै सुरेशलाल श्रेष्ठ, कमलादेवी श्रेष्ठ, राजेशलाल श्रेष्ठ, इन्द्रप्रसाद राजभण्डारी, श्रीवत्स शमशेर राणा र दिजा श्रेष्ठको नाम छ ।

    रिजेन्सी होटल्स लिमिटेडको १९औं वार्षिक साधारण सभाको माइन्युट अनुसार साधारण सभामा बरुण र अरुण हङकङस्थित डोमिनियन इन्भेष्टमेन्ट लिमिटेडका प्रतिनिधिका रूपमा उपस्थित भएको कागजातहरूले देखाउँछन् जसको ती कम्पनी मार्फत तारागाउँ रिजेन्सीले सञ्चालन गरेको हायात इन्टरनेशनल लिमिटेडमा लगानी छ ।

    शुरूको सम्झौता अनुसार राधेश्याम वैदेशिक लगानीकर्ता हुन् । उनले लगानी भित्र्याउन नेपाल सरकार अन्तर्गतको उद्योग विभागको अनुमति चाहिन्छ र नेपालको मुनाफा विदेश लैजान विभागको सिफारिशमा राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ । तर उनीहरूले दुवै निकायबाट अनुमति लिएका छैनन् ।

    अफशोर लगानीबारे सराफसँग सम्पर्क गर्दा फोन उठाएनन् । उनलाई फोनमा ‘म्यासेज’ समेत गरेर सोध्दा समेत कुनै प्रतिक्रिया आएन । तेस्रो पटक उनलाई सम्पर्क गर्दा उनको फोन अफ थियो ।

    अफशोर कम्पनीसँग एडीबीको कारोबार

    सराफले नेपालमा सञ्चालन गरेका होटललाई एशियाली विकास बैंक (एडीबी) ले ऋण दिएको भेटिएको छ । १३ फेब्रुअरी १९९३ मा एडीबी र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका बीचमा ऋण सम्झौता भएको थियो । एडीबीकोे ऋणलाई पछि शेयरमा परिणत गरियो । उक्त शेयरलाई एडीबीले हङकङस्थित डोमिनियन इन्भेष्टमेन्ट लिमिटेड, ब्रिटिश भर्जिन आइल्याण्डको डोमिनियन इन्भेष्टमेन्ट लिमिटेड र क्रिस्टल शप नाम गरेका कम्पनीलाई बिक्री गरेको खुलेको छ । शेयर खरीद गर्ने कम्पनीमा राधेश्याम र उनका परिवारका सदस्य नै संलग्न छन् ।

    १० फागुन २०६४ को पत्र अनुसार एशियन फाइनान्स एण्ड इन्भेष्टमेन्ट कर्पोरेसनले ५ लाख ६७ हजार ५०० कित्ता शेयर ब्रिटिश भर्जिन आइल्याण्डको डोमिनियन इन्भेष्टमेन्ट लिमिटेडलाई बिक्री गर्ने सहमति गरेको थियो ।

    ८ पुस २०६७ को पत्र अनुसार उद्योग विभागले जयस पटेल ९द क्रिष्टल शप०लाई २३ हजार ५६० कित्ता हकप्रद शेयरमध्ये ९ हजार ४२४ कित्ता शेयर प्रवीणलाल श्रेष्ठ र १४ हजार १३६ कित्ता शेयर विश्वरत्न शाक्यलाई खरीद–बिक्री गर्ने सैद्धान्तिक सहमति दिएको थियो ।

    विभागले तीन वर्षपछि फेरि जयस पटेल ९द क्रिस्टल शप०को नाममा रहेको २३ हजार ५६० कित्ता शेयर बिक्री गर्ने अनुमति दियो । होटल निर्माणका क्रममा पारिश्रमिक भुक्तानी गर्नुपर्ने कम्पनीलाई रकमको साटो शेयर बाँडेकाले जयसले शेयर पाएका हुन् ।

    तारागाउँ विकास समितिले कम्पनीमा गरेको लगानीबारे छानबीन गर्न पर्यटन मन्त्रालयबाट गठित समितिले २०७३ सालमा तयार पारेको प्रतिवेदन अनुसार, तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा ऋण लगानी बापत एशियाली विकास बैंकको एशियन फाइनान्स एण्ड इन्भेष्टमेन्ट कर्पोरेशनले आफ्नो नाममा भएको शेयर विदेशमा रहेका कम्पनीहरूलाई बेच्यो । १० फागुन २०६४ मा उद्योग विभागबाट सहमति लिई उक्त कर्पोरेशनले हङकङमा रहेको डोमिनियल इन्भेष्टमेन्ट्स लिमिडेटलाई ५ लाख ६७ हजार ५०० कित्ता शेयर बिक्री ग¥यो ।

    तारागाउँ विकास समितिले कम्पनीमा गरेको लगानीबारे छानबीन गर्न गठन भएको समितिले २०७३ सालमा तयार पारेको प्रतिवेदन अनुसार प्रवीणलाल श्रेष्ठ आईसीटीसी ग्रुपमा आवद्ध र शाक्य होटल याक एण्ड यतीका विश्वासिला कर्मचारी भएको उल्लेख गरेको छ । ऋण तिर्न नसकेको भनी विदेशी कम्पनीलाई दिएको शेयर सराफरश्रेष्ठ समूहले विदेशमा आफू निकटका व्यक्तिका नाममा खरीद गरेका थिए।

    शेयर खरीदबिक्री र नेपालमा रकम भित्र्याएको विषयलाई संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि प्रश्न उठाएको थियो । २०७५ सालको समितिको प्रतिवेदन अनुसार एशियाली विकास बैंक, एशियन फाइनान्स एण्ड इन्भेष्टमेन्ट कर्पोरेशन लिमिटेड र कोरियन डेभलपमेन्ट बैंकसँग तारागाउँ विकास समितिले ऋण सम्झौता गरेको थियो । सन् १९९६ जून २६ मा भएको सम्झौता अनुसार तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १ करोड ३८ लाख ३० हजार अमेरिकी डलर ऋण सम्झौता गर्‍यो ।

    सोही प्रतिवेदन भन्छ, ‘एडीबीबाट आएको भनिएको लगानीको स्रोत स्पष्ट र पारदर्शी हुनसकेको देखिन आएन ।’ प्रतिवेदनले कम्पनीले राष्ट्र बैंक मार्फत प्रयोजन खुलाई रकम भित्र्याउनुपर्नेमा अनुमति नलिएको पनि उल्लेख गरेको छ ।

    यसरी हत्याए सराफले हायातको शेयर

    ‘हायात होटल’को ब्राण्डबाट बौद्धमा ‘तारागाउँ रिजेन्सी होटल्स लिमिटेड’ सञ्चालन गर्न अरुणकुमार सराफ र नेपाली व्यवसायी दिनेशलाल श्रेष्ठबीच १० पुस २०४८ मा समझदारी भएको थियो ।

    जानकारहरूका अनुसार सम्झौता लगत्तै सराफ दरबार र शक्ति केन्द्रको सधैं नजिक रहे । सराफले प्रजातन्त्र आउने वित्तिकै नेपालको पर्यटन क्षेत्रको विकासका लागि विदेशबाट लगानी भित्र्याउने र राम्रो पाँचतारे होटल खोल्ने प्रस्ताव अघि सारेका थिए ।

    – रामु सापकोटा, कृष्ण ज्ञवाली र कृष्ण आचार्य-  खोज पत्रकारिता केन्द्र

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार