Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्यान्डोरा पेपर्स: जोर्डनका राजाले यूके र अमेरिकामा झन्डै १२ अर्बको घरजग्गा जोडेको खुलासा

    प्यान्डोरा पेपर्स: जोर्डनका राजाले यूके र अमेरिकामा झन्डै १२ अर्बको घरजग्गा जोडेको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । जोर्डनका राजाले गोप्य रूपमा १० करोड डलर (११ अर्ब ८४ करोड रुपैयाँ) भन्दा बढी खर्च गरेर यूके र अमेरिकामा घरजग्गा जोडेको खुलासा भएको छ। राजा अब्दुल्लाह बिन अल हुसेनले सन् १९९९ मा सत्ता सम्हालेयता १५ वटा घर खरिद गर्न प्रयोग गरेका गोप्य संस्थाहरूबारे चुहिएका दस्ताबेजले यस्तो खुलासा गरेका हुन्।

    राजा अब्दुल्लाहका वकिलले उनको व्यक्तिगत सम्पत्ति प्रयोग गरी घरहरू किनिएको भन्दै अफशोर कम्पनीहरू प्रयोग गरी त्यसो गरिनु अनुपयुक्त नरहेको बताएका छन्।जोर्डनले उल्लेख्य रूपमा अमेरिका र यूके सहितका देशबाट अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्छ।



    यूके त्यहाँको प्रमुख आर्थिक साझेदार हो। हालै पाँच वर्षका लागि दिइने सहायतालाई दोबर बनाउँदै यूकेले जोर्डनलाई ६५ करोड पाउन्डभन्दा बढी दिने बताएको थियो। राजा अब्दुल्लाह मध्यपूर्वका लागि पश्चिमाहरूका लागि एक जना मध्यमार्गी साझेदारका रूपमा चिनिन्छन्।



    तर, सम्पत्तिप्रति उनको रुचि सन् २००३ देखि २०१७ सम्म बढिरहेको देखिन्छ र यो बेला देशभित्र निरङ्कुश शासन चलाइरहेको आरोप उनीविरुद्ध लागिरहेको छ। सरकारी खर्च घटाउने र कर वृद्धिका निर्णयसँगै त्यहाँ हालैका वर्षहरूमा प्रदर्शन पनि भइरहेको छ।

    जोर्डनका अधिकारीहरूले सन् २०२० को जुनमा विदेशमा रकम पठाउने आफ्ना नागरिकहरूलाई कारबाही गरिने बताएका थिए।सरकारप्रति असन्तुष्ट रहेका एक जनालाई उद्धृत गर्दै राजा अब्दुल्लाहले ‘रिमोट कन्ट्रोल’का सहायताले देश चलाइरहेको उल्लेख गरिएको छ। र एक जना पूर्व सरकारी कर्मचारीले बीबीसीलाई आफूले चारदेखि पाँच महिनासम्म देश बाहिर बिताउने बताएका छन्।

    जोर्डनका राजाबारे पछिल्लो खुलासा प्यान्डोरा पेपर्स भनिने नयाँ आर्थिक दस्ताबेजमा उल्लेख गरिएको छ। प्यान्डोरा पेपर्सले विभिन्न अफशोर कम्पनीहरूले दिने गोप्य सेवा र विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिलाई त्यसबाट प्राप्त भएको लाभको विस्तृत विवरण उल्लेख छ।

    यूकेमा बीबीसी पानोरोमा र द गार्जियनले अरू सञ्चार साझेदारहरूसँग मिलेर ब्रिटिस भर्जिन आइल्याण्ड्स, बेलिज, पानामा, हङकङ, साइप्रस, स्विट्जरल्याण्ड र अरू देशहरूसँग मिलेर एक करोड २० लाखभन्दा बढी फाइलहरूमा पहुँच कायम गरेको थियो।

    राजा अब्दुल्लाहले वाशिङ्टन डीसीको जोर्जटाउनमा सन् २०१२ र सन् २०१४ चार वटा अपार्टमेन्ट खरिद गरेका थिए। त्यसबेला जोर्जटाउन विश्वविद्यालयमा अध्ययन गरिरहेका आफ्ना छोरा राजकुमार हुसैनसँग उक्त एक करोड ६० लाख डलर बराबरको खरिद सम्बन्धित भएको हुनसक्छ।

    क्यालिफोर्नियाको पोइन्ट डुमेमा रहेको सात कोठे घर त्यहाँ चट्टानमाथी रहेको महँगो सम्पत्तिमा पर्छ। उक्त क्षेत्रमा सर एन्थोनी होप्किन्स र अभिनेत्री जुलिया रोबर्टस लगायत बसिसकेका छन्।

    सन् २०१४ मा तीन करोड ३५ लाख डलर कीर्तिमानी मूल्यमा ब्रिटिस भर्जिन आइल्याण्डसको नाबिस्को होल्डिङ्ग्स एसएले खरिद गरेको थियो। ब्रिटिस भर्जिन आइल्याण्डमा रहेका दुई वटा कम्पनीले उक्त घरको अघि र पछाडिको सम्पत्ति सन् २०१५ र सन् २०१७ मा खरिद गरेका थिए र त्यसको कूल लागत छ करोड ८० लाख पुगेको थियो।

    ती तीन वटै जमिनलाई अहिले एउटै बनाइँदै छ। प्यान्डोरा पेपर्सको दस्ताबेजले तीन वटै कम्पनीलाई एउटा पानामाको ल फर्मले प्रतिनिधित्व गर्ने देखाउँछ जुन गोप्य रूपमा जोर्डनका राजाको स्वामित्वमा रहेको थियो।

    खरिदका लागि अफशोर कम्पनीको प्रयोग गरेकाले सम्पत्तिको स्वामित्वलाई गोप्य राख्न जोर्डनका राजा सफल भएका थिए। राजाका लागि कम्पनी खडा गरेका व्यक्तिहरूले उनको पहिचान नखुलोस् भन्नका लागि सावधानी अपनाएको देखिन्छ। एउटा आन्तरिक दस्ताबेजमा उनलाई ‘थाहा भएको व्यक्ति’ भनेर लेखिएको छ।

    वित्तीय पारदर्शिता कायम गर्ने अन्तर्राष्ट्रिय प्रयास कठिन रहेको पनि सङ्केतहरू पनि त्यहाँबाट मिल्छ। सन् २०१७ मा ब्रिटिस भर्जिन आइल्याण्ड्सले एउटा कानुन पारित गर्दै सबै कम्पनीका मालिकहरूले सरकारको नियन्त्रणमा रहने एउटा आन्तरिक रजिस्टरमा पहिचान खुलाउनुपर्ने उल्लेख गरिएको थियो।

    तर त्यस्तो एउटा कानुन आएको आठ महिनापछि पनि राजा अब्दुल्लाह सम्बद्ध कम्पनीहरूले आफ्ना विवरण सरकारलाई नबुझाएको देखिन्छ। राजालाई राजनीतिक रूपमा पहिचान भएका व्यक्तिका रूपमा पनि चिनाइएको छैन।

    भ्रष्टाचारविरोधी नियम अनुसार सार्वजनिक ओहोदाका प्रबुद्ध व्यक्तिलाई त्यसरी चिनाउनुपर्ने हुन्छ। राजा अब्दुल्लाहका वकिलहरूले उनको सम्पत्तिबारे विवरण वास्तविक वा अद्यावधिक नरहेको बताएका छन्।उनीहरूले विदेशका सबै सम्पत्तिहरू व्यक्तिगत धनले खरिद गरिएको उल्लेख गर्दै त्यो धनबाट जोर्डनका नागरिकका लागि पनि परियोजनाहरूमा लगानी गरिने जनाएका छन्।

    अफशोर संयन्त्रहरू राजाको धन लुकाउन प्रयोग नगरिएको भन्दै उनीहरूले गोपनीयता र सुरक्षाका कारणले उच्च पदस्थ व्यक्ति र संस्थाहरूले त्यस्ता संयन्त्रमार्फत सम्पत्ति खरिद गर्नु साधारण अभ्यास भएको ती वकिलहरूको भनाइ छ। सम्बन्धित ठाउँको कानुनी र आर्थिक दायित्व पुरा गरेर दक्ष जनशक्तिले ती कामको व्यवस्थापन गरिरहेको उनीहरूको तर्क छ। बीबीसी नेपालीबाट 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार