Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यी हुन राज्य चुस्ने अर्बपति बिचौलियाहरु, नेतादेखि अदालतसम्म कनेक्सन !

    यी हुन राज्य चुस्ने अर्बपति बिचौलियाहरु, नेतादेखि अदालतसम्म कनेक्सन !

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 5.9K
    SHARES

    काठमाडौं । देश सरकारले होइन, बिचौलियाहरुले चलाउने गरेका छन् । जुन पार्टीको सरकार आए पनि तिनै बिचौलियाले चलाउने गरेका छन् । राजनीतिक नियुक्ति, कर्मचारीको सरुवादेखि ठेक्कापट्टा र अदालतमा परेका मुद्दामा पनि बिचौलियाकै बिगबिगी छ । उनीहरुकै बोलवाला चल्ने गरेको छ ।

    पछिल्लो समयमा सबैभन्दा बढी बिचौलियाको जगजगी अदालतका मुद्दादेखि ठूला ठेक्कामा हुँदैआएको छ । उद्योग विभागमा ट्रेडमार्क चोरी गर्ने र मुद्दा मिलाउने बिचौलियाहरु पनि छन् ।
    काम छिटो गराइदिएबापत सेवाग्राहीसँग एकाध हजार लिने यातायात र मालपोत कार्यालयका बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रहरीले पक्राउ गर्छ । तर, करोडदेखि अरबौंको चलखेल गर्ने बिचौलियाहरुलाई कुनै कानुनले पनि छुँदैन ।
    बिचौलियाहरुको पहुँच राजनीतिक दलका शीर्षनेतादेखि अख्तियारका अधिकारीहुँदै सर्वोच्च अदालतका न्यायाधीशका बेडसम्मै हुन्छ । उदाहरणका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रीमा प्रस्ताव गरिएका बिचौलिया दीपक तिमल्सिनाको पहुँच एमालेका अध्यक्ष केपी ओलीको बेडरुमसम्म नै रहेको उनले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले नै पुष्टि गर्दछन् ।



    एनसेल लाभकर काण्डमा सेटिङ गर्ने तिमल्सिनाको पहुँच सर्वोच्च अदालतका न्यायाधीशदेखि सबै दलका शीर्षनेतासम्म रहेको छ । उनी अदालतमा अरब भन्दा माथि चलखेल हुने मुद्दा सेटिङ गर्ने बिचौलिया हुन् । पोखराबाट १० बर्षअघि सर्वोच्च अदालतको आइटीमा करारमा जागिर खाने तिमल्सिना अहिले रसियन अरबपति उपेन्द्र महतोका समेत विश्वासपात्र हुन् । दीपक तिमल्सिनाले दीप बस्नेतदेखि चुडामणि शर्मा सम्मलाई अदालत सेटिङ गरेका थिए।  तिमल्सिनामाथि अख्तियारका उजुरी तामेलीमा राखिदिन्छु भनेर पनि असुल्ने गरेको आरोप लाग्ने गरेको छ।



    त्यस्तै सबै पार्टीलाई घुमाउने बिचौलिया हुन्–तारा सापकोटा ।   उनी केपी ओलीको बेडमै पुग्थे भने प्रधानमन्त्री शेरवहादुर देउवासँग पनि उनको उत्तिकै राम्रो सम्बन्ध छ । देउवाका साला भूषण राणाका त उनी विश्वासिला बिचौलिया नै हुन् ।
    तारा सापकोटासँग बानेश्वरमा रहेको प्रभुशमशेर राणाको आइपेक्स मलको अगाडि ३ रोपनी क्षेत्रफलमा घर छ । त्यसका अलावा थापागाउँमा ९ आनामा अर्को घर छ ।

    त्यसैगरी सबै पार्टी सेटिङ गर्नसक्ने खुबी भएका अर्का बिचौलिया हुन्, दीपक भट्ट । भट्टले ओलीमार्फत् दाजु सुशील भट्टलाई योजना आयोगको सदस्य हुँदै लगानीबोर्डको सीईओ नियुक्ति गराएका छन् । लगानीबोर्डमा दर्ता हुनुपर्ने ५ अर्बभन्दा बढी लगानीका चिनियाँदेखि अन्य बिदेशी लगानीकर्ताले दीपक भट्टसँग सेटिङ नगरेसम्म प्रक्रिया नै अगाडि बढ्दैन । १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजना विना प्रतिस्पर्धा निर्माण गर्ने अनुमति पाउने क्षमता भएका भट्टले ओली सरकारमा पालामा वीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाललाई नियुक्ति गराउँदा १ अर्ब घुसको चलखेल भएको सार्वजनिक भइसकेको छ ।

    वीमा सम्बन्धी ब पनि ज्ञान नभएका सिलवालको नियुक्ति गराउँदा कबोल गरेको घुस रिइन्स्योरेन्स कम्पनी दर्ता गर्दा थर्मल काण्डका नाइके सुलभ अग्रवालहरुबाट असुली गरी ओलीदेखि तत्कालीन अर्थमन्त्री बिष्णु पौडेल र सरोकार राख्नेहरुलाई भागशान्ति जयनेपाल गरेका थिए । भट्टको हालका अर्थमन्त्री जनार्दन शर्मासँग पनि अति निकट सम्बन्ध छ । त्यही सम्बन्धका आधारमा उनले सुलभ अग्रवालसँग कनेक्सन गराएर छडमा राष्ट्रघाती नीतिगत निर्णय गर्न लगाई राज्यलाई बार्षिक ६ अर्ब राजस्व गुमाउने अवस्था सृजना गराएका छन् । विवादित ब्यापारी सुलभ अग्रवालले २५ करोड खर्च गरी उक्त निर्णय गराउन सफल भएको चर्चा अर्थमन्त्रालयमा छ ।

    त्यसैगरी, अर्का बिचौलिया हुन् किया गाडीका मालिक सुहृद घिमिरे । उनले बालाजु औद्योगिक क्षेत्रको बीसौं रोपनी जग्गा कौडीको मूल्यमा लिजमा लिएका छन् । बालाजु औद्योगिक क्षेत्रको जग्गाको भाडासमेत बर्षौदेखि बृद्धि गर्नबाट रोकेका छन् । औद्योगिक क्षेत्र ब्यवस्थापन लि का अध्यक्ष नन्दकिशोर बस्नेतलाई घुस दिएर जग्गाको भाडा बृद्धि गर्न नदिएको आरोप उनीमाथि लाग्ने गरेको छ । ब्याट्री कम्पनीको १३ रोपनी भन्दा बढी सरकारी जग्गा अतिक्रमण गरी गैरकानुनी रुपमा आफ्नो बनाउन खोजेका छन् । सुहृद घिमिरेले ओली प्रधानमन्त्री हुँदा श्रीमती रेखा शर्मा घिमिरेलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्ड सदस्य नियुक्ति गराएका छन् । उनको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग पनि अति निकट सम्बन्ध छ । राणाले ओलीको सरकारमा उनलाई मन्त्री बनाउनका लागि सिफारिस नै गराएको चर्चा हुने गरेको थियो । राणाले नाता पर्ने धादिङको केपी सिमेन्टका मालिक कृष्णप्रसाद उप्रेती(केपी) र सुहृद मध्ये एकलाई मन्त्री बनाउन दबाब दिएको तर आफूले नमानेपछि असार २८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको ओलीले भन्दैआएका छन् ।

    प्यान्डोरा पेपर्सले भर्खरै सार्वजनिक गरेको जानकारी अनुसार घिमिरेले नेपालमा आर्जन गरेको सम्पत्ति करछली गर्न ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा लुकाएका छन् । यसअघि पनामा पेपर्सले पनि भर्जिन आइल्याण्डमा कालोधन लुकाउनेमा घिमिरेको नाम सार्वजनिक गरेको थियो ।
    घिमिरेले ललिता निवासको २१ रोपनी जग्गा सासु इन्दु शर्मा र श्रीमती रेखा शर्मा घिमिरेको नाममा दर्ता गरेको खुलेको छ । उनकी सासू इन्दुबिरुद्ध त अख्तियारले विशेष अदालतमा मुद्दा छ । श्रीमती रेखाले भने पहिले नै बिक्री गरिसकेकाले उनीबिरुद्ध मुद्दा परेको छैन ।

    ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने अर्का बिचौलिया हुन्, कैलाशचन्द्र गोयल । उनी विदेशका चर्चित उत्पादनका ट्रेडमार्क अनधिकृत रुपमा उद्योग विभागमा दर्ता गर्ने गर्दछन् । यदि त्यो कम्पनी नेपालमा लगानी गर्न आए ट्रेडमार्क नै दर्ता नहुने र मुद्दा मामिला गर्नुपर्ने भएपछि नेपालमा लगानी नै गर्नबाट बिदेशीहरु हच्किने गरेका छन् । जापानको चर्चित पेन्ट कम्पनी कन्साई नेरोलिकको ट्रेडमार्क गोयलले पहिले नै आफ्नो नामम दर्ता गरेका थिए । कान्साई नेपालमा लगानी गर्न आयो, तर, आफ्नो ट्रेडमार्क गोयलले पहिले नै दर्ता गरेको पाएपछि निराश भयो । उद्योग विभाग, उच्च अदालत हुँदै सर्वोच्च अदालतमा मुद्दा झेल्दा दस बर्ष बितिसक्यो तर न्याय पाउन सकेको छैन । आफ्नै ट्रेडमार्क चोरी भएकाले कायम गरिपाउँ भनी दिएको मुद्दामा पनि अदालतले उनलाई न्याय दिन सकेको छैन । सर्वोच्च अदालतका न्यायाधीशदेखि प्रधानन्यायाधीशसम्मको बेडसम्मै पहुँच छ भन्दै गोयलले कन्साईलाई धम्क्याउने गरेका छन् । ट्रेडमार्क चोरी गर्ने तिनै गोयललाई शेरबहादुर देउवाको सरकारले बिभूषण दिएर सम्मान गरेको छ । गोयल अदालतका बिचौलिया हुन् । उनी जस्तासुकै मुद्दा पनि जिताउने भन्न पछि पर्दैनन् ।

    त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभुशमशेर राणा अदालतका हालका ठूला बिचौलिया हन् । उनी सधैं मुद्दामा डिल गरिरहेका हुन्छन् । आइपेक्स मलदेखि तारे होटलमा उनी करोडदेखि अरबका मुद्दामा डिल गरिरहेका छन् । बिचौलिया धन्दाबाट अरबौंको सम्पत्ति जोडेका उनी त्यो सम्पत्ति धमाधम बिक्री गर्दै दुवईमा सुरक्षित गर्न थालेको चर्चा छ । सुधीर बस्नेतदेखि पाकिस्तानी दूताबास रहेको नक्सालको ८४ आना जग्गाको मुद्दामा उनले पचासौं करोड बार्गेनिङ गरिरहेका छन् ।
    त्यसैगरी पूर्वसचारमन्त्री गोकुल बास्कोटालाई ७० करोड घुसको अडियो रेकर्ड गरी राजीनामा दिन बाध्य पार्ने बिजय मिश्र पनि बिचौलिया हुन् । उनले सेक्युरिटी प्रेस खरिदको मुद्दामा बाँस्कोटासँग मोलतोल गरेको अडियो रेकर्ड गरेका थिए ।

    भूमिब्यवस्था मन्त्रालय अन्तर्गतका सरकारी जग्गा दर्ता गर्नेदेखि मुद्दा मिलाउन न्यायाधीश सेटिङ गर्छु भन्दै उनी पैसा असुली गर्ने र काम नगरी पचाइदिने अर्का बिचौलिया सञ्जय अधिकारी हुन । उनले स्व. डा उपेन्द्र देवकोटाको दरबारमार्गस्थित घर भाडामा लिएर ७ बर्षदेखि कब्जा गरेका छन् ।

    देवकोटाका परिवारले घरको भाडासमेत पाउन सकेका छैनन् । देखावटी रुपमा रेमन्डको एजेन्सी लिएको बताउने अधिकारीले माओवादी नेताहरुको नाममा समेत काम गरिदिन्छु भन्दै पैसा असुली गर्दैआएका छन् । भूमिब्यवस्था सचिव गणेश पाण्डेको समेत उनी बिचौलिया हुन् ।

    ओम्नीदेखि सडक विभागका सरुवा र ठेक्कापट्टामा बिचौलिया काम गर्ने रविन श्रेष्ठ, दूरसंचार क्षेत्रका बिचौलिया मनिन्द्रराज मल्ल पनि छन् ।  इण्डियन टेरेन, द मिलानो ब्राण्डको आबरणमा हुण्डीको अबैध कारोबार गर्ने बिचौलिया हुन रुपेश पाण्डे। उनले नेपाल प्रहरीका एक एसएसपीसँग मिलेर कारोबार गर्दै आएका छन्।

    सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले सरुवा बढुवादेखि विभिन्न ठेक्कापट्टामा असुलीका लागि राखेका बिचौलिया हुन्, नरेश भट्ट ।

    उनलाई आइजीपी खनालले सशस्त्रका सवारीचालक समेत दिएका छन् । भट्टले सशस्त्रका इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवामा मोलमोलाई गरी आइजीपी खनाललाई बुझाउने गर्दछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार