Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी , चौधरी ग्रुपका परिवारै मुछिए

    १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी , चौधरी ग्रुपका परिवारै मुछिए

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ। गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा भएको छ  । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘आईसीआईजे’ को संयोजनमा खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले सार्वजनिक गरेको एउटा रिपोर्टमा नेपालका केही व्यक्ति र व्यापारिक घरानाले ‘अफसोर कम्पनी’ खोलेर गोप्य लगानी गरेको उल्लेख छ । यो सूचीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ ।

    विगतमा पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स सार्वजनिक गरेको आईसीआईजेले यसपटकको रिपोर्टिङलाई ‘प्यान्डोरा पेपर्स’ भन्ने नाम दिएको छ । र, यसलाई ‘अफसोर लगानी’ तर्फ ‘हालसम्मकै सबैभन्दा ठूलो खुलासा’ भनेको छ । ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोजमा खोपकेका तर्फबाट पत्रकारहरू कृष्ण आचार्य र रामु सापकोटा सहभागी थिए ।



    ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्ड्समा प्रतिनिधिसभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको प्यान्डोरा पेपर्समा उल्लेख छ । ती कम्पनीहरू विनोद, श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलका नाममा छन् ।



    यस्तै नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनले ‘अफसोर कम्पनी’ खोलेर कारोबार गरेको विवरण उल्लेख छ ।

    त्यसैगरी  अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनी भेटिएको दाबी रिपोर्टमा छ ।  राजेन्द्र शाक्य, सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, सुधीर मित्तल तथा नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सर्राफको नाम र विवरण पनि खोपकेको समाचारमा उल्लेख छ ।

    नेपाली ‘कानुनमा रहेका छिद्र उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने व्यवसायी विनोद चौधरीसहित उनको परिवारका पाँच जनाको नाममा ब्रिटिस भर्जिन आइल्यान्ड्समा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता छन् । प्यान्डोरा पेपर्सका अनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्समा सिनोभेसन इन्कर्पोरेटेड, सीजी होटल्स एन्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूका नाममा दर्ता छ ।

    कानुनको ‘छिद्र उपयोग’ गरेर १८३ दिन विदेश बसेका छोराहरू राहुल र बरुणका नाममा विदेशमा खाता खोली वैधानिक लगानी गरेको खुलासा स्वयं चौधरीले आफ्नै आत्मकथामा पनि गरेका छन् ।

    गोल्छा परिवारका परिवारका सदस्यले ब्रिटिस भर्जिन आइल्यान्ड्समा ‘फ्ल्याटउड लिमिटेड’ खोल्दा पनि नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरण छ । जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्डअनुसार उक्त कम्पनीमार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्यान्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन् । उक्त खाता सञ्चालनका लागि १२ फेब्रुअरी २००८ मा दिवाकर, हितेश र लोकमान्य गोल्छालाई कम्पनीले अधिकार दिएको बताइएको छ । फ्ल्याटउड लिमिटेड नामक कम्पनीमार्फत दिवाकर गोल्छालगायतको समूहले सन् २००८ मा नेपालको इस्टर्न सुगर मिल्सको सेयर खरिद गर्ने निर्णय गरेको भेटिएको खोपकेले उल्लेख गरेको छ ।

    प्यान्डोरा पेपर्सका अनुसार अजेयराज सुमार्गी सन् २०१० मा ब्रिटिस भर्जिन आइल्यान्ड्समा खोलिएको जोधार इन्भेस्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन् । यसैगरी सोही मुलुकमा दर्ता गरिएको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक, ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको जनाइएको छ । त्यहाँ लगानी गर्ने क्रममा उनले नेपाली पासपोर्ट प्रयोग गरेका छन् ।

    नेपालस्थित किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृदराज घिमिरे र उनका व्यावसायिक साझेदार पुरुषोत्तम पौडेलले पनि त्यहाँ ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेको भेटिएको खोपकेले जनाएको छ ।

    नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सर्राफ र उनको परिवारले पनि ब्रिटिस भर्जिन आइल्यान्ड्समा कम्पनी खोलेर कारोबार गरेको खोपकेले दाबी गरेको छ। सर्राफ भारतीय मूलका व्यवसायी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार