Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • किया गाडीमा सुहृदराज घिमिरेको अवैध लगानी, विदेशमा कालो धन थोपर्दै

    किया गाडीमा सुहृदराज घिमिरेको अवैध लगानी, विदेशमा कालो धन थोपर्दै

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालमा किया गाडीका बिक्रेता सुहृदराज घिमिरे र उनका व्यावसायिक साझेदार पुरुषोत्तम पौडेलको पनि ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी भेटिएको छ। घिमिरे नेपालस्थित किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष हुन्। पौडेल सोही कम्पनीका कार्यकारी निर्देशक हुन्।

    घिमिरे र पौडेलले सन् २००९ मा ब्रिटिस भर्जिन आइल्याण्डमा ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेको भेटिएको हो। यी दुवै जना कम्पनीका लगानीकर्तासँगै निर्देशक पदमासमेत रहेको आईसीआईजेका कागजातहरूले देखाउँछन्। उनीहरूले कम्पनी खोल्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन्। घिमिरेले एक अमेरिकी डलरका दरले तीन कित्ता र पौडेलले एक डलरका दरले एक कित्ता सेयर खरिद गरेर यो कम्पनी खोलेका हुन्।



    ‘द बीभीआई बिजनेस कम्पनी एक्ट, २००४’ ले यो कम्पनीलाई एक डलरका दरले अधिकतम ५० हजार कित्ता सेयर जारी गर्न सक्ने अधिकार दिएको छ। यो कम्पनीको रजिस्टर्ड एजेन्ट ब्रिटिस भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी हो।



    सन् २००९ मा नेराइन ट्रस्ट कम्पनी एजेन्ट रहेको यसले सन् २०१० मा एजेन्ट परिवर्तन गरी ओभरसिजमार्फत् काम गर्न थालेको हो। यसरी एजेन्ट परिवर्तन गरिदिने काम सिंगापुरको ‘एक्सप्रेस को रजिस्ट्रेसन एण्ड म्यानेजमेन्ट पीटीई लिमिटेड’ले गरिदिएको देखिन्छ।

    घिमिरे र उनका साझेदार काठमाडौं कपनका पौडेल नेपालको चर्चित ‘बालुवाटार जग्गा प्रकरण’मा समेत जोडिएका व्यक्ति हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख भएअनुसार पौडेल र घिमिरेकी सासू इन्दु शर्माको नाममा बालुवाटारमा जग्गा छ। राजनीतिज्ञ, प्रशासक तथा उद्योगी व्यापारीको मिलेमतोमा बालुवाटार क्षेत्रको करिब ३०० रोपनी जग्गा व्यक्तिको नाममा सारिएको थियो।

    यसमध्ये ७६३.११ वर्गमिटर सरकारी जग्गा पौडेलको नाममा कायम भएको छ। डिल्लीबजार मालपोत कार्यालयको अभिलेखअनुसार १२ आना जग्गा १३ मंसिर २०६३ मा घिमिरेकी सासू इन्दु शर्माको नाममा राजीनामा पास भएको छ। उनीहरू विरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ।

    सन् २०१३ मा आईसीआईजेले नै गरेको अफशोर लिक्समासमेत घिमिरेको नाम समावेश थियो। त्यतिबेला सार्वजनिक भएको विवरणअनुसार घिमिरेको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा इको बे लिमिटेड नामक कम्पनी छ। पुरुषोत्तम पौडेल पनि उक्त कम्पनीका लगानीकर्ता हुन्।

    अफशोर लगानीमा संलग्‍न घिमिरे र पौडेललाई टेलिफोनमार्फत् सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आएनन्। हामीले पठाएको टेलिफोन सन्देशको पनि उनीहरुले कुनै प्रतिक्रिया दिएनन्। (खोज पत्रकारिता केन्द्रकाे सहयाेगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार