Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने, श्रमिक पनि नपठाइने

    सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने, श्रमिक पनि नपठाइने

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकले व्यहोर्दै आएका समस्याको समाधान खोज्न छलफल थालेको छ ।

    जिम्मेवारी सम्हालेलगत्तै श्रम क्षेत्रको सुधारमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरोकारवालासँगको छलफललाई तीव्र पारेका छन् ।



    सोही अवसरमा आज मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्केका नेपाली श्रमिकसँग छलफल गरे । छलफलमा सहभागीले स्वदेश फिर्ती, नेपाली श्रमिकले वैदेशिक रोजगारीमा भोग्नुपरेको बेथिति, वैदेशिक रोजगारीको सुरुआतदेखि नेपाल नफर्केसम्म नेपालीमाथि हुने गरेको ठगी र सरकारले तोकेका सेवासुविधा नपाएको गुनासो गरेका थिए ।



    उनीहरुले बाध्यात्मक रुपमा वैदेशिक रोजगारी जानु परेको यथार्थ सुनाउँदै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र स्वदेश फर्केका युवाको पुनःएकीकरणमा ध्यान दिन आग्रह गरेका थिए । अझै पनि स्वदेशमा रोजगारीको अवसर नभएको हुँदा दैनिक हजारौँ युवा विदेसिन बाध्य छन् ।

    स्वदेश फर्केका युवाले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिकसमेत नपाएको गुनासो उनीहरुको थियो । सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा सङ्कलन गर्नुपरेको उनीहरुको भनाइ थियो ।

    उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको, गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरुले न्यून पारिश्रमिकमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको बताएका थिए ।

    वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको भोगाइ सुनेपछि मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने र त्यस्ता कम्पनीमा नेपाली पठाउन बन्द गरिने बताए ।

    वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै अगाडि बढाउने उनले बताए । मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनःएकीकरण गर्न कार्यविधि तयार गरिरहेको छ ।

    कार्यक्रममा आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार