Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल-गायिका प्रकरण:

    पूर्ण विक्रमको पक्षमा युट्युबर र समर्थकको रमिते प्रदर्शन, पीडित बालिकालाई के भने ?

    पूर्ण विक्रमको पक्षमा युट्युबर र समर्थकको रमिते प्रदर्शन, पीडित बालिकालाई के भने ?

    निर्मल लामिछाने
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 2.1K
    SHARES

    दमौली । बाल गायिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्ण विक्रम)का पक्षमा उनका समर्थक र युट्युबरहरुले दिनहुँ रमिते प्रदर्शन गरिरहेका छन्।

    गत फागुन १५ गते प्रहरीसामु आफैले आत्मसमर्पण गरेका अभिनेता शाहलाई त्यसको भोलिपल्टै जिल्ला अदालत तनहुँले ७ दिन हिरासतमा राखेर घटनाबारे अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतको अनुमतिपछि शाह अहिले ६ दिनदेखि प्रहरी हिरासतमा छन् ।



    शाह हिरासतमा रहेदेखि दिनहुँ उनका समर्थक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय तनहुँ अगाडि दिनहुँजसो नाराबाजी गर्दै अभिनेता शाह निर्दोष रहेको दाबी गर्दै पीडित बालिकाको चरित्रमाथि नै प्रश्न उठाएका छन्।



    काठमाडौंबाट भेट्न आएका केही कलाकार र आफूलाई कथित अभियन्ता बताउनेहरुले भीड जम्मा गरेर पललाई निर्दोष साबित गर्न अनुसन्धानमा खटिएका प्रहरीसामु शक्ति प्रदर्शन गरिरहेका छन् । उनीहरुको प्रदर्शन हेर्दा कुनै मेला र महोत्सव भन्दा कम देखिदैन।

    करिअरको खोजिमा कलिलो उमेरमा राजधानी छिरेकी पीडित बालिका अभिनेता शाहको प्रेमजाल र झुटो मायाको आशामा बलात्कृत हुन पुगेकी थिइन् । उनीहरुले उनलाई प्रोत्साहन गर्नुको सट्टा आरोपितलाई नै समर्थन गरिरहेका छन् । जबकी अरुबेला तीनै अभियन्ताहरु काठमाडौँका सडकमा बलात्कारीलाई फाँसी दे भन्दै प्रदर्शन गर्नमा तल्लीन देखिन्थे।

    पछिल्लो समय यसरी वकालत गर्नेहरुमा अभिनेता जयकिशन बस्नेत, युटुबर विजय पुन, भोजराज थापा र अभिनेता पुण्य गौतमलगायतले पल निर्दोष भएको अफवाह फैलाइरहेका छन्। शाह पक्राउ परेपछि युट्युब च्यानल, सामाजिक सञ्जाललगायतका माध्यममा पीडितमाथि नै लाञ्छना लगाउँदै आरोपित निर्दोष रहेको भन्दै सामग्री सम्प्रेषण भइरहेका छन्।

    कानुनमा १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्पर्क भए पनि बलात्कार ठहरिने उल्लेख भए पनि अनुसन्धान प्रक्रियालाई नै प्रभावित तुल्याउने गरी अहिले अभियान्ता, युट्युबर र सिने कलाकारहरू नै लागेका छन्।

    आफै कार्यालय अगाडि भीड जम्मा गरेर युट्युबरहरूले मेला, महोत्सवको झल्को दिँदा समेत प्रहरी रमिते बनेर बसेको छ । कानुनको धज्जी उडाउँदै अनुसन्धानमा प्रभाव पार्ने उद्देश्यले भीड जम्मा पारेर चुनौती दिइरहँदा समेत प्रहरीले रोक्नका लागि आवश्यक कदम चालेको देखिंदैन । यद्यपि प्रहरीले भने बाहिर भइरहेको नारा-जुलुस र भीडका कारण अनुसन्धान प्रभावित नहुने दाबी गरेको छ।

    ‘पललाई थुन्न पाइँदैन, जस्टिस फर पल शाह’

    पछिल्ला दिनहरुमा दमौलीमा पललाई भेट्न आउने कथित सामाजिक अभियन्तादेखि सेलिब्रिटीको लहर चलेको छ ।उनीहरुले ‘पललाई थुन्न पाइँदैन, पल निर्दोष छन्’, ‘जस्टिस फर पल’, ‘मन मिल्दा चमत्कार, नमिल्दा बलात्कार,’ ‘आफूलाई सम्हाल्न नसक्ने, अरुलाई दोष दिने ?’ जस्ता नारा लेखिएका पम्प्लेट बोकैर तमासा देखाइरहेका छन् ।

    पीडित नाबालिका भएको पुष्टि 

    जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतका अनुसार प्रहरीले अहिलेसम्म पलविरुद्ध २ वटा प्रमाणहरु जुटाइसकेको छ । जसमा पीडित बालिका नाबालिग रहेको अनुसन्धानमा खुल्न आएको प्रहरी स्रोतको दाबी छ । पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेपछि पीडित नाबालिक रहेको पुष्टि भएको छ। जन्ममिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ । घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्मदर्ता नै हो। जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ।

    कन्याजाली च्यातिएको मेडिकल रिपोर्ट

    यस्तै, उजुरीपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण पनि गरेको थियो। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेको छ । प्रहरीका अनुसारयी दुवै प्रमाण आरोपीविरुद्ध बलिया रहेका छन् । पीडितको मद्दा हेरेकी अधिवक्ताले पनि पलविरुद्ध बलियो प्रमाण फेला परेको पुष्टि गरेकी छन् । उनले एक भिडियो अन्तरवार्ताका क्रममा किशोरीको कन्याजाली च्यातिएको प्रमाण चिकित्सकले दिएको दाबी गरेकी थिइन्।

    अनुसन्धानमा अवरोध नगर्न मानव अधिकार आयोगको आग्रह

    राष्ट्रिय मानव अधिकार आयोगले अभिनेता पल शाहमाथि लागेको बलात्कारको आरोपबारे संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।

    शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    यस सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको छ । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ,’ आयोगले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ।

    अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहने आयोगका सहप्रवक्ता लोकनाथ बास्तोलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    युट्युब, टिकटकमा भ्रामक सूचना दिनेलाई कारबाही

    प्रहरीको साईबर ब्यूरो भोटाहिटीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै अमर्यादित कार्य गर्ने, पीडकलाई मानसिक असर पर्नेलगातयतबाट चरित्र हत्या गर्ने उद्देश्यले त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्यहरु नगर्न/नगराउन हुन सबैमा अनुरोध गरेको छ ।

    पछिल्लो समय अभिनेता शाहविरुद्धको अभियोगमा युट्युब, टिकटक र सामाजिक सञ्जालहरुमा अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको भन्दै प्रहरीले त्यस्ता गतिविधि गर्नेहरुविरुद्ध सूचना जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो।

    सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्यूबलगायतमा व्यक्तिहरुको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने उक्त ब्यूरोले जनाएको छ ।

    साथै, त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुनवमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेको समेत सो ब्यूरोले जनाएको छ ।

    के छ कानूनमा ?

    नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिकारकिशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबर्जस्ती करणी मानिन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा करणी भएको मानिने अवस्था र सजाय सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’

    उपदफा ३ मा पीडितको उमेर समूहअनुसार सजायसम्बन्धी व्यवस्था छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुन्छ । १० वर्ष वा १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकालाई करणी भए १८ देखि २० वर्षसम्म कैद सजाय हुन्छ । १४ वर्ष वा १४ वर्षदेखि माथी र १६ वर्षभन्दा कम उमेरकालाई करणी भए १२ देखि १४ वर्षसम्म कैद हुन्छ । यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । १८ वर्ष वा १८ वर्षभन्दा माथि उमेरकालाई करणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।

    दफा २२८ ले पिडितलाई पीडकबाट ‘मनासिव’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि गरेको छ । दफा २ सय १९ अन्तर्गतका कसुरको हकमा कसुर भएको एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने र त्यसभन्दा पछि उजुरी गरेमा उजुरी नलाग्ने व्यवस्था छ । दफा २२० अन्तर्गतको कसुर भए जहिले पनि उजुरी लाग्न सक्छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिन सक्ने व्यवस्था छ ।

    यदि पीडितले पछि अदालतमा बयानमा फेरेमा उनी स्वयम् कारबाहीको भागीदार हुन सक्छिन् । यस्तो घटनामा अदालतले बयान फेर्ने पीडत नै सजाय दिन सक्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार