Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेवाकालको उत्तरार्धमा गुमाउन केही नरहेपछिको कदम मात्र हो यो : डीआईजी कार्की

    सेवाकालको उत्तरार्धमा गुमाउन केही नरहेपछिको कदम मात्र हो यो : डीआईजी कार्की

    मलाई गोटी बनाएर खेल्न खोज्ने पात्र र प्रयासहरुलाई सहज रुपमा अस्विकृत गरियो

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । सरकारले डिआईजीत्रय वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीभित्र खैलाबैला नै मच्चियो । सरकारको उक्त निर्णयविरुद्ध सिनियर डिआईजीहरु बढुवामाथिको उजुरी सुन्ने समितिदेखि सर्वोच्च अदालतसम्म पुगे । बढुवा सुन्ने समितिले सरकारको उक्त निर्णयलाई सदर गरेपछि सिनियर डिआईजीत्रय घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की सर्वोच्च पुगे ।

    उनीहरुले आज दायर गरेको रिटमा सर्वोच्चले २० गतेका लागि पेशी तोकेको छ । यता मन्त्रीपरिषद्को निर्णयबाट आजै बढुवा भएका पन्त, सिंह र धानुकले भने आजै फूली लगाइसकेका छन् । प्रहरी प्रधान कार्यालयले आजको आजै एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई फूली लगाइदिएको हो ।



    सर्वोच्चमा परेको उजुरीका बारेमा बाहिर नआएपनि उजुरीकर्तामध्येका एक डिआईजी इश्वरबाबु कार्कीले भने सामाजिक सञ्जाल ट्वीटरमा यसबारे खुलाएका छन् ।



    उनले आफूलाई धम्की आएको समेत बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘‘खै कुन्नि के के लगाएर’ ठेगान लगाइदिने सम्मको कुरा आए।’

    डिआईजी कार्कीले ट्वीटरमा भनेका छन्–

    धेरै समयपछि आज केही लेख्दैछु, समय कत्तिको उपयुक्त हो थाहा छैन। मेरो लागि व्यक्तिगत र पारिवारिक रुपमा यो वर्ष सुखद् रहेन् । हुन त देश, राज्य र ब्रम्हाण्डलाई नै सुखद् नरहेको हाम्रा लागि मात्र कसरी अनुकुल हुन सक्थ्यो र !

    कुरा अब वर्तमानको गरौं। सामाजिक संजालहरुमा मेरो उपस्थिति लामै समयदेखि छ। आफ्ना निजी कुराहरु अनि समसामयिक विषयमा हल्काफुल्का टिप्पणी, व्यंग आदी माध्यमबाट। यसलाई म आफैंले कहिल्यै आफ्नो पेशासँग जोड्ने प्रयास गरिन्। तर आज पहिलो पटक मैले व्यावसायिक पाटो उप्काउँदै छु।

    सरकारी सेवामा कार्यरत मैले यसपटकको बढुवामा आफ्नो नाम नपर्दा गरेका उजुरी बारे लगभग सबैजसो नाम चलेका छापारअनलाइनहरुमा आए। समाचारका कतिपय कुराहरु तथ्यगत थिए भने कतिपय अनुमानित। तर सन्तोष केमा रह्यो भने बिना प्रभाव पनि सकारात्मक समाचार आउँदा रहेछन भन्ने मेरो निजी धारणाको विकास भयो।

    मेरो उजुरी रोक्न यो किन ? के का लागि ? भनेर आग्रह, पूर्वाग्रह र दुराग्रह मिश्रित प्रश्नहरु तेर्सिए, अझ कतिपय त आजपर्यन्त भेट नभएका सुत्रहरुले समेत भेट्ने प्रयास गरे। २९ प्लस वर्षको सेवा पछि स्वतः प्राप्त गर्नुपर्ने प्रतिफलबाट बिमुख म जस्तासँग भविष्यमा आउन सक्ने ‘अवसर’ को बारेमा बिमर्श गर्दै गर्दा त एकछिनका लागि निकै ठूलै मानिस पो भइएछ कि भनेर भ्रममा रमाइयो पनि।

    अर्कोतिर ‘खै कुन्नि के के लगाएर’ ठेगान लगाइदिने सम्मको कुरा आए।

    मेरो उजुरी कर्मचारी जीवनको एउटा सामान्य प्रक्रिया हो। त्यसैले म यसलाई ग्लोरिफाई गरेर ‘लडाई’ भन्ने पक्षमा छैन। यो कुनै अमुक व्यक्तिरसंस्थारसरकार लक्षित बिरोध होइन, हुन सक्दैन। बरु यसक्रममा मलाई न्याय दिन प्रयास गर्नेहरु प्रति आभारी छु। त्यसैले यसको अतिरंजनामा पनि मेरो बिमति छ।

    यसबीच मलाई गोटी बनाएर खेल्न खोज्ने पात्रहरु पनि बग्रेल्ति भेटिए तर तिनका उत्तेजित गर्ने प्रयासहरुलाई सहज रुपमा अस्विकृत गरियो। तथापी यसलाई कसैले गलत रुपमा परिभाषित गर्छ र बुझ्छ भने त्यसको जिम्मेवारी मैले लिन सक्दिन। मेरो जिकिर केवल आफूले न्याय पाउनु पर्छ भन्ने मात्र हो।

    अनि यो उजुरी अहिले नै किन ? भन्ने प्रश्न पनि नतेर्सिएको हैन। यसका लागि रातो कार्ड दिएर बाँकि खेल हेर्न नदिने मात्र हैन कि मैदानमै बस्न नदिने जस्ता ‘नियम र रेफ्री’को व्यवस्था बारे ‘वैशाख १९’ पछि बिबेचना गरौला। अहिलेलाई सेवाकालको उत्तरार्धमा गुमाउन केही नरहेपछिको कदम मात्र हो यो।

    मैले केही दिन अघि ट्विटरमा एउटा पोल गरेको थिए, ‘अन्तिम आशा त न्यायालय कै रह्यो, हेरौ १ जाम कि नजाम ?’
    थोरै फलोवर भएपनि ८३५ ले जानुपर्छ भनेकाले पनि मलाई नैतिक बल पुग्यो। तर न्यायालय पुग्नु अघिको विद्यमान नियम र कार्यविधिको जटिलतालाई पनि पार गर्नै पर्ने बाध्यता रहेछ।

    मलाई थाहा छ, नकारात्मकताउन्मुख हाम्रो परिवेशमा धेरैले मेरा कुरालाई ‘फ्रस्ट्रेसन वा कुण्ठा’को रुपमा तामेली गर्ने देखि ‘भिलेनाइज’ गर्न पनि पछी पर्ने छैनन्। अनि त्यो भन्दा एक कदम अघि बढेर प्रतिशोध लिने सम्भावना पनि त्यत्तिकै देख्दैछु। संस्थागत रुपमा दिनसक्ने दुस्खको त अझ कुरै नगरौं।

    तर, केही छैन। आउँदो पुस्ताको वृत्तिविकासमा कलम चोप्ने क्रममा ‘फलानोले जस्तो गर्छन कि ?’भनेर यो प्रकरणले चीरनिन्द्रामा मस्त ‘विवेक’लाई झस्काउने सम्मको काम गर्छ कि भन्ने ‘सपना’ देखेको छु।

    अन्तमा, बिषयवस्तुले आज न्यायालय प्रवेश गरेकाले यसको निर्क्यौल नहुन्जेल अब उप्रान्त म यस विषयमा सार्वजनिक टिप्पणी गर्ने छैन।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार