Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अकुतमा मुद्दा खेपिरहेका डिआईजी लामाको एआईजीमा बढुवा

    अकुतमा मुद्दा खेपिरहेका डिआईजी लामाको एआईजीमा बढुवा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ बैशाख २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा पनि शसस्त्र प्रहरीकै शैलीमा एक जनाको मात्रै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएको छ । शसस्त्र प्रहरीमा दुई एआईजी पद रिक्त हुँदाहुँदै गृह मन्त्रालयले डिआईजी नारयणदत्त पौडेललाई मात्रै २१ गते एआईजीमा बढुवा गरेको थियो ।

    सोही शैलीमा नेपाल प्रहरीमा पनि पाँच एआईजी पद रिक्त रहेको अवस्थामा एक जनाको मात्रै बढुवा भएको हो । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका डिआईजी बसन्त कुमार लामालाई मात्रै गृह मन्त्रालयले एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । आज बसेको बढुवा समितिको बैठकले लामालाई मात्रै एकल बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।



    अवकाशको तीन साता पनि बाँकी नभएका लामालाई ठूलो आर्थिक चलखेलमा एकल बढुवा गरिएको प्रहरी स्रोत बताउँछ । बढुवामा परेका लामाले जेठ ७ गते अनिवार्य अवकाश पाउँदैछन् । डिआइजी लामाले ३३ किलो सुन तस्करी प्रकरणमा आफ्नै सहकर्मीलाई फसाएर संगठनलाई कमजोर बनाएका थिए। उनीमाथि आरके ज्वेलर्सका राजेन्द्र शाक्यलगायतका व्यापारीसँग बार्गेनिङ गरेको आरोप लागेको थियो।



    उत्तमराज सुवेदी जस्ता कमाण्डिङ क्षमतामा अब्बल र सिनियर डिआईजी हुँदाहुँदै ठूलो आर्थिक चलखेल गरेर लामा एकल बढुवा हुन सफल भएको प्रहरी  स्रोतको दावी छ ।

    शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेसँगै प्रहरी संगठन नै अस्तव्यस्त बन्दै आएको छ । यसअघि पनि नेपाल प्रहरीमा एआईजीको संख्या एक दर्जन भन्दा बढी बनाएर संगठनलाई नै विवादमा ल्याइएको थियो ।

    देउवा नेतृत्वको सरकारको आदेश पालना गरेका नवनियुक्त आईजीपी धिरजप्रताप सिंहले पनि संगठनलाई चुस्त र दुरुस्त पार्नेमा शंका उत्पन्न भएको छ । पाँच एआईजी पद रिक्त रहेको अवस्थामा एक जनाको मात्रै बढुवा गरेर आईजीपी सरकारको खेलौना बनेको प्रहरी अधिकारीहरु नै बताउँछन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार