Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्रको स्नो आइटम खरिदमा ठूलो चलखेल, अख्तियार किन मौन ?

    सशस्त्रको स्नो आइटम खरिदमा ठूलो चलखेल, अख्तियार किन मौन ?

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलले ठूलो स्केलमा हिमाली सामानको बोलपत्र निकालेको छ । शुक्रबार निकालिएको बोलपत्रमा ५ किसिमका हिमाली आइटम छन् । स्नो स्लीपीङ ब्याग ४ हजार ७ सय ५० पिस मागिएको छ । स्नो पार्का ज्याकेट पनि ४ हजार ७ सय ५० पिस नै मा माग गरिएको छ ।

    त्यसैगरी, बोलपत्रमा स्नो बुट ५ हजार जोर, ब्ल्यांकेट ३७ हजार पिस र ट्रयाकसुट ३७ हजार थान मागिएको छ । सशस्त्र प्रहरी स्थापनाको २२ औं बर्षको इतिहासमा यो ठेक्का अहिलेसम्मको सशस्त्रको हातहतियारपछिको सबैभन्दा बढी मानिएको छ ।



    करिब ३४ करोड भन्दा बढीको यो ठेक्कामा ३ वटा हिमाली आइटम स्नो स्लीपीङ ब्याग, स्नो पार्का ज्याकेट र स्नो बुटमा सशस्त्रको नेतृत्वकै हस्तक्षेपमा निश्चित ठेकेदारलाई दिनेगरी बोलपत्र सूचना अघि नै सेटिङ भइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार हिमाली आइटमको ठेक्कामा राजमान मिश्र, वीरेन्द्र जोशी, टोपेन्द्र बीसी र श्रवण अग्रवालको समूहले नै पाउनेगरी डिल भइसकेको छ । हिमाली ३ वटा आइटम नै २२ करोड रुपैयाँ भन्दा बढीको खरिद गर्न लागिएको छ ।



    सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालसँग कनेक्सन भएका मिलन मल्लले राजमान मिश्रलाई स्नो बुटको ठेक्का दिलाउने भएका छन् । वीरेन्द्र जोशी, टोपेन्द्र बीसी र श्रवण अग्रवालको समूहलाई स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको ठेक्का दिलाउने गरी सेटिङ गरिएको छ ।

    कोषराज वन्त आइजीपी हुँदा आर्थिक प्रशासनको प्रमुख रहेका राजु अर्यालसँग त्यही समयदेखि मल्लको सम्बन्ध रहिआएको छ । उनी आइजीपीको निवासमा समेत आउजाउ गर्ने गर्दछन् । मल्लकै डिजाइनमा मिश्रले बुटको ठेक्का पाउनेगरी डिल भइसकेको बताइन्छ । आइजीपी अर्यालले प्रशासनका एआइजी नारायणदत्त पौडेल र प्रबन्धका दीपेन्द्र कुँवरलाई स्नो बुटको नमूना समेत मिश्रको अनुकूल हुनेगरी दिइसकेको बताइन्छ ।

    त्यसैगरी जोशीले हिमाली आइटमको ठेक्का पाउनेगरी बोलपत्र सूचना निकाल्दै सेटिङ भइसकेको छ । जीएसएम प्लस माइनस २ मात्रै बोलपत्रमा राखिनुले सशस्त्रको ठेक्का आफैंले मात्र पाउनेगरी काम गर्दैआएका ठेकेदारको सेटिङमा भएको देखिन्छ ।

    ज्याकेट र स्लीपीङ श्रवण अगवाल, वीरेन्द्र जोशी, टोपेन्द्र बीसीसहितको ३ जनाको पाउने डिल भइसकेको छ । र, उक्त डिल वीरेन्द्र जोशीले गरेको स्रोतले बताएको छ । ब्ल्यांकेट र ट्रयाकसुटको खरिदमा भने स्नो आइटममा जस्तो सेटिङ नभएको स्रोतले बतायो ।

    नेपाल प्रहरीको खरिदमा विभिन्न चरणमा धेरै घोटाला भएका छन् । अख्तियारले बहुचर्चित सुडान घोटाला प्रकरणमा मुद्दा दायर गरी पूर्वआइजीपी ओमविक्रम राणा र रमेश चन्द ठकुरीले जेलसंजाय समेत भोगे । प्रहरीका प्रबन्ध निर्देशनालयका इन्स्पेक्टर, डीएसपी र एसपीका बिरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

    तर, सशस्त्र प्रहरीमा चिरन्जिवी अधिकारी आर्थिक प्रशासनमा हुँदा भएका अनियमितता छताछुल्ल भए । तर अख्तियारले गम्भीर छानबिन गरेन । शैलेन्द्र खनाल ४ बर्ष आइजीपी हुँदा उनी, खरिदका दीपेन्द्र शाह र लेखाका गणेश मल्लका बिरुद्ध उजुरी परे, तर केही भएन । थुप्रै उजुरी परे, तर कारबाही हुन सकेन । खनालका पालामा खरिद गरिएको चुस्ता एकपटक धुनासाथ खुइलिएको गुनासो आए पनि अख्तियारले चासो नै राखेन ।

    खनाल, शाह र मल्लको टीमले चुस्ताको टेण्डरमा सेटिङ नभएपछि टेण्डर नै रद्द गरी पुनः टेण्डर गरेर सेटिङमा ठेक्का दिएका थिए । तर अख्तियारले प्रमाणसहित उजुरी पर्दा पनि छानबिन गर्न आवश्यक ठानेन । अहिले २२ करोड भन्दा बढीको स्नो आइटममा चलखेल हुँदा पनि अख्तियार के हेरेर बसेको छ ? भन्ने प्रश्न सशस्त्रमा उठेको छ ।

    कति मूल्यमा खरिद हुँदैछ सामान ?
    स्नो आइटममध्ये स्लीपीङ ब्याग प्रतिपिस १६ हजार रुपैयाँमा खरिद गर्न लागिएको छ । बोलपत्रमा बिड सेक्युरिटी रकम १९ लाख रहेकाले ४ हजार ७ सय ५० पिस स्लीपीङ ब्यागको ठेक्का करिब ७ करोड ६० लाख रुपैयाँ बराबरको हो ।

    पार्का ज्याकेट पनि प्रतिपिस १६ हजार रुपैयाँ नै छ । पार्का ज्याकेट पनि ४ हजार ४ हजार ७ सय ५० पिस नै मागिएको छ । पार्का ज्याकेट पनि ७ करोड ६० लाखकै खरिद गरिंदैछ । बुट ५ हजार जोर मागिएको छ । बिड सेक्युरिटीबापतको रकम बोलपत्र सूचनामा १९ लाख रुपैयाँ उल्लेख भएकाले बुटको प्रतिजोर १५ हजार २ सय पर्न आउँछ । सशस्त्रले बुट पनि ७ करोड ६० लाख बराबरको खरिद गर्दैछ ।

    ब्ल्यांकेट ६ करोड र ट्रयाकसुट ५ करोड ६० लाख बराबरको खरिद गर्न लागिएको छ । ब्ल्यांकेट र ट्रयाकसुट ३७/३७ हजार पिस मागिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार