Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फ्लाई दुबईको चालक दलले भन्यो – धार्केमाथि पुगेपछि मात्र आगो निस्किएको थाहा पायौं

    फ्लाई दुबईको चालक दलले भन्यो – धार्केमाथि पुगेपछि मात्र आगो निस्किएको थाहा पायौं

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नसाथ समस्या देखिएको फ्लाई दुबइका पाइलटले नागरिक उड्डयन प्राधिकरणलाई उडानको विवरण पठाएका छन् ।

    सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा आगो लागेको थियो । उक्त विषयमा फ्लाई दुबईको विमानका पाइलटले उडानको विवरण नागरिक उड्डयन प्राधिकरणलाई पठाएका हुन् ।



    फ्लाई दुबईको चालक दलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै अचानक ठूलो हलचल सामना गर्नुपरेको उड्डयन प्राधिकरणलाई पठाएको जवाफमा उल्लेख गरेका छन् ।



    जवाफमा उनीहरूले एफजेड–५७६ उडानमा १६८ यात्रु राखेर उडेका चालक दलले दायाँ इन्जिन मा समस्या देखेको बताएका छन् ।  उनीहरूले उक्त इन्जिनको पछाडितर्फ रहने ईजीटी एक्जस्ट ग्यास टेम्प्रेचर प्रभावित भई ठूलै आवाज ककपिटभित्रै सुनिएको बताए।

    सोमबार राति ९ः१९ मा दुबईका लागि उडेको विमानका पाइलटहरूले काठमाडौंमै फर्किने गरी सहायता मागेका थिए । सँगै इन्जिनमा आगलागी हुँदा अपनाउनुपर्ने निर्देशिकालाई पालना गरेको उनीहरूले जवाफमा भनेका छन् ।

    २० हजार फिट उचाइमा रहेका बेला चालक दलले विमानलाई धादिङमाथिको आकाश (धार्के) नाम दिइएको हवाई बिन्दु मा पुर्‍याउँदै करिब १४ मिनेट फन्को लगाइरहे ।

    अमेरिकी कम्पनी बोइङको ७३७ विमान ‘होल्ड’ स्थितिमा ६ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा परिक्रमा गरिरहेको थियो, त्यसैबेला ककपिटमा सबै सामान्य हुँदै गएको चालक दलले जवाफ दिएका छन् ।

    विमानले उडान योजनाअनुसारको उचाइ लिएर ‘क्रुज’ मा पुगेका बेला मात्रै काठमाडौं विमानस्थलका एटीसीले धावनमार्गमा चराको प्वाँख भेटिएको जानकारी गराएको र त्यसबाट आफूहरूले गरेको ‘बर्ड हिट’ को आशंकालाई थप बल मिलेको उनीहरूको भनाइ छ ।

    प्राधिकरणले भने फ्लाई दुबईसँग चरा ठोकिएको घटनालाई आधारहीन भनेको छ । प्राधिकरणले फ्लाई दुबईको नेपालस्थित कार्यालयका अधिकारीको पास रोक्का गर्दै सम्बन्धित वायुसेवासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।

    इन्जिनमा आगोको लप्का देखिएपछि काठमाडौंकै आकाश आसपासमा अलमलिएर फेरि अघि बढेको विमानले दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समयअनुसार राति २ बजे अवतरण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार