काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको चौधरीविरुद्धको मुद्दा बुधबार पनि हेर्न नभ्याइनेमा परेको हो ।
घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो ।
आइतबार मन्त्रिपरिषद्को बैठकले चौधरीसहित १९ राजबन्दीलाई आममाफी दिन सिफारिस गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसलाई स्वीकृत गरेका थिए । गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् ।
२०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।
Leave a Reply