Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रहरी कर्मचारीले व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्नुपर्छ : आईजीपी कुँवर

    प्रहरी कर्मचारीले व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्नुपर्छ : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीले व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

    प्रहरी प्रधान कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले प्रविधिको विकाससँगै अपराध लगायतका विभिन्न गतिविधिमा परिवर्तन आएकाले प्रत्येक प्रहरी कर्मचारीले आफ्नो व्यवहार र कार्यशैलीलाई समयअनुसार परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताए ।



    कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले कार्य सम्पादन सम्झौतामा सिर्जनशील तथा प्रवर्द्धनात्मक कार्यक्रम समावेश गरिएको हुँदा सम्पूर्ण प्रहरी कार्यालयले आफ्नो कार्यशैलीमा सिर्जनशीलता देखाउँदै कार्यसम्पादन सम्झौताको उद्देश्य प्राप्तिका लागि दत्तचित्त भएर काम गर्नुपर्ने बताए ।



    नेपाल सरकारले रूपान्तरणको नीतिलाई आत्मसात् गर्दै अगाडि बढेको अवस्थामा यो अवसरलाई सदुपयोग गर्दै प्रत्येक प्रहरी कर्मचारीले सकारात्मक भई प्रहरी कार्यमा सुशासन कायम गर्ने, आन्तरिक शुद्धिकरण गर्ने, नागरिकमैत्री बन्ने र पूर्ण व्यावसायिक बन्दै निष्ठामा रहेर प्रहरीको छवि सुधार्ने काम गर्न उनले निर्देशन दिए ।

    कार्यक्रममा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्दै दुई आर्थिक वर्षका लागि तयार पारिएको नेपाल प्रहरी कार्ययोजना–२०८० स्वीकृत भएपश्चात् वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम तय गरिएको जानकारी दिए ।

    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी प्रधान कार्यालय मातहतका प्रहरी अतिरिक्त महानिरीक्षक र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार