Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव

    ‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 444
    SHARES

    बेदकोट । कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ । नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ ।

    केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिए । “हामीलाई खोपको अभाव छ, त्यसैले खोप लगाउन सकेका छैनौँ, कार्यालयमा आउने किसानलाई पशुमा देखिएको लक्षणका आधारमा औषधि दिइरहेका छौँ”, उनले भने, “सङ्क्रमित पशुको उपचार भइरहेको छ ।”



    खोपको उपलब्धताका लागि पहल भइरहेको उनको भनाइ छ । सङ्क्रमणले पशुचौपाया मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । “ज्वरो आउने, र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिन्छन्, अन्तिममा पशुको मृत्यु हुन्छ”, भीमदत्त नगरपालिका–१३ का प्रमानन्द भट्टले भने , “यस्तै लक्षण देखिएपछि केही महिनाअघि रु ५० हजारमा किनेको भैँसी मर्यो, अहिले गोठ रित्तो छ ।”



    भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार यहाँका करिब तीन हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ । दैनिक २०–२५ पशुचौपायामा सङ्क्रमण देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख पाण्डेयले बताए ।

    उनका अनुसार अहिलेसम्म जिल्लामा लम्पी स्किनको सङ्क्रमणका कारण दुई सय पशुचौपाया मरेका छन् । सबैभन्दा बढी भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकामा सङ्क्रमण देखिएको निमित्त प्रमुख पाण्डेयले बताए । गाईगोरुमा लम्पी स्किनको सङ्क्रमण देखिएसँगै मर्न थालेपछि किसान चिन्तित बनेका छन् । किसान बजारबाट खोप खरिद गरेर चौपायालाई लगाइरहेका छन् ।

    “लम्पी स्किनको सङ्क्रमण गाउँमा फैलिएको छ, यो सङ्क्रमणले चौपायाको मृत्यु भइरहेको सुनेपछि सुरक्षित राख्न पशुचौपायालाई खोप लगाएँ”, बेदकोट नगरपालिकाका मनोज जोशीले भने , “बजारमा खोप पाइँदैन, पाइहाले पनि निकै महँगो छ ।” सङ्क्रमणविरुद्धको खोप महँगो हुनाले विपन्न किसानलाई लम्पी स्किनबाट पशुचौपाया जोगाउनै धौधौ परेको छ ।

    लक्षण देखिएका पशुचौपायालाई छुट्टै ठाउँमा राखेर सरसफाइका साथै औषधोपचारमा विशेष ध्यान दिनुपर्नेमा पुनर्वास नगरपालिकाको पशु सेवा शाखा अधिकृत अनिता केसीले जोड दिए । “औषधोपचारबाट पनि धेरै सङ्क्रमित चौपाया निको भएका छन्, तर केही समय लाग्ने गरेको छ, औषधोपचारमा विशेष ध्यान दिनुपर्छ”, उनले भने , “अहिले हामीले सङ्क्रमण देखिएको चौपायाको उपचार गर्ने कार्य गरिरहेका छौँ ।” रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार