Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • साइबर ब्यूरो पुग्यो एनआरएनए निर्वाचन विवाद, समापन कार्यक्रममा प्रधानमन्त्री पनि सहभागी नहुने

    साइबर ब्यूरो पुग्यो एनआरएनए निर्वाचन विवाद, समापन कार्यक्रममा प्रधानमन्त्री पनि सहभागी नहुने

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 753
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा धाँधली भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । हिजो भएको मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो ।

    अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने केसीका प्रतिद्वन्द्वीलगायतले बताएका छन् ।



    महासचिवका उम्मेदवार बुद्धि सुवेदीले यसअघि अमेरिकामा पनि यस्तो नतिजा आउँदा धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको बताए । उनले यस नतिजाले ८० लाख गैरआवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको आरोप लगाए ।



    सुवेदीले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतःसिद्ध हुने बताए । उनले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको जानकारी दिए ।

    आफ्नो जानकारीअनुसार परराष्ट्र मन्त्रालयले निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उनको भनाइ छ ।

    निर्वाचित उपाध्यक्ष हेमराज शर्माले भने अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए । उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु समस्याको जड रहेको बताए ।

    शून्य हुन नहुनुपर्ने भए पनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटि भएको हुनसक्ने उनको भनाइ छ ।

    उनले भेरो आएर यथार्थ भनिदिनुपर्ने बताउँदै पुनः गणना गर्नुपरे पनि आफूहरु तयार रहेको बताए ।

    यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एनआरएनए को ११ औँ विश्वसम्मेलनको समापन समारोहमा सहभागी नहुने भएका छन् ।

    एनआरएनएको निर्वाचनमा कार्यकारी अध्यक्ष बद्री केसी समूहले सिस्टम ह्याक गरेर आफ्नो पक्षमा नतिजा पारेको आरोप लगाएर विवाद उत्पन्न भएसँगै प्रधानमन्त्रीले विश्व सम्मेलनको समापन समारोहमा सहभागी नहुने निर्णय लिएका हुन् ।

    प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पूर्वनिर्धारित कार्यक्रम भएपनि एनआरएनएभित्रको पछिल्लो विवादका कारण प्रधानमन्त्री नजाने निश्चित भएको बताए ।

    असोज ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलनको समापन प्रधानमन्त्रीले गर्नेगरी एनआरएनएले कार्यतालिका बनाएको थियो ।

    तर, गएराति सम्पन्न निर्वाचनमा भेरो नामक अनलाइन भोटिङ सिस्टम ह्याक गरेर अध्यक्षको दोस्रो कार्यकालका उम्मेदवार बनेका बद्री केसीले आफ्नो पक्षमा नतिजा देखाएका दुई उम्मेदवारहर आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । उनीहरुले निर्वाचन खारेज गर्दै दोषीमाथि कानुनी कारबाही गर्न माग समेत गरेका छन् ।

    उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले पनि जितलाई स्वीकार नगर्ने बताएका छन् । उनले निर्वाचनमा धाँधली गरिएको दावी गरेका छन् ।

    मत परिणाम घोषणासँगै केसीका प्रतिस्पर्धी शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताइसकेका छन् । मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने– यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।

    अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार