Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम

    जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 384
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताइन् । उनले भनिन्, “संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा स्वीकार वा अस्वीकार गर्ने परिपाटी र संस्कारको अन्त्य हुनुपर्छ ।”



    “सरकारले कुनै पनि विषयवस्तु संसद्मा लिएर आउँदा सरकार पक्ष वा सरकार बनाउन मत हालेका सांसदले राम्रो–नराम्रो नहेरी बाध्यात्मक परिस्थितिबाट पक्षमा बोल्नुहुन्छ र मतदान गर्नुहुन्छ । प्रतिपक्षले जतिसुकै राम्रा विषय उठान गरे पनि उहाँहरु हुँदैन नै भन्नुहुन्छ”, उनले भनिन्, “मुद्दामा भन्दा पनि सरकारमा छ कि प्रतिपक्षमा छ भन्ने कुरा ध्यानमा राखेर विधेयक पारित हुन्छ । सत्तापक्ष र प्रतिपक्षका आधारमा मात्रै ‘फेल र पास’ गर्ने हो भने सांसदको भूमिकाको अर्थ छैन, संसद् सरकारको कठपुतलीजस्तो मात्र हुन्छ ।”



    काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद गौतमले पहिलो संसदीय अभ्यासको अनुभव सुनाउँदै संसद्को आगामी अधिवेशनको तयारीबारे जानकारी दिइन् । कानुनमा स्नातक उनले नेपाल टेलिभिजनमा पाँच वर्ष कार्यक्रम निर्माता एवं प्रस्तोता भई काम गरेकी थिइन् ।

    पहिलोपटक संसदीय अभ्यास गरिरहेकी उनले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउन सांसदको रचनात्मक भूमिकाको आवश्यकता औँल्याइन् । उनले समयमा नै परिणाम प्राप्तिका लागि सबै पक्षको साझा प्रयासमा जोड दिइन् ।

    “हामीले मन्त्रीहरूलाई ध्यानाकर्षणपत्र कति बुझाउने, कति प्रश्न गर्ने, संसद्मा कति बोल्ने ? त्यसको कार्यान्वयन शून्य छ”, सांसद गौतमले भनिन्, “ध्यानाकर्षण गराइएको विषयमा कार्यान्वयनका लागि सबैको साझा पहल आवश्यक हुन्छ । कतिपय अवस्थामा जनता सडकमा उत्रिने र सांसद बोल्ने सँगसँगै भएपछि मात्र सरकारको ध्यानाकर्षण हुँदोरहेछ । त्यही विषय सञ्चारमाध्यममा आइरह्यो भने ध्यानाकर्षण भइरहन्छ ।”

    सांसद गौतमले अघिल्लो दुई अधिवेशनको अनुभवबाट सिक्दै आगामी अधिवेशनमा जनचासोका विषय समेटेर गैरसरकारी विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको जानकारी पनि दिइन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार