Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २ हजार नेपालीलाई रुसी सेनामा पठाउन अन्तर्वार्ता लिने म्यानपावरमा छापा, श्रममन्त्री भण्डारीकै संरक्षण !

    २ हजार नेपालीलाई रुसी सेनामा पठाउन अन्तर्वार्ता लिने म्यानपावरमा छापा, श्रममन्त्री भण्डारीकै संरक्षण !

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । म्यानपावरहरुले खुलेआम विज्ञापन निकालेर सयौं ब्यक्तिलाई रुसी सेनामा पठाएको देखिएपनि वैदेशिक रोजगार विभागले ‘एक्सन’ लिन सकेको छैन ।

    विभागको काठमाडौं कार्यालयकै कर्मचारीको मिलेमतोमा रुसमा नेपालीलाई पठाउने गरिएको छ । रुसका कम्पनीका नाममा कामदारको माग भएको विज्ञापन निकालेर चोर बाटोबाट रुसी सेनामा नेपाली पठाउने गरिएको पाइएको छ ।



    रुसको कम्पनीमा कामदार माग भएको विज्ञापन निकालेर विभागको काठमाडौं कार्यालयबाट श्रम स्वीकृति लिने गरिएको छ । रुस–युक्रेन युद्ध हुनु अघि रसियामा नेपाली कामदारको माग नै हुँदैनथ्यो । तर युक्रेनमाथि आक्रमणपछि रुसी सेनामा भाडाका सैनिकको माग अत्यधिक भएपछि नेपालबाट हजारौंको संख्यामा यु्वाहरु पठाउने गरिएको छ । पैसाको लोभमा सुरज केसी जस्ता म्यानपावर सञ्चालकले नेपालीलाई रुसी सेनामा पठाएर मृत्युको मुखमा पुर्याएका छन् ।



    नेपाली युवाबाट प्रतिब्यक्ति ५ लाखदेखि ११ लाख रुपैयाँसम्म असुली रुसी सेनामा पठाउने गरिएको छ । कम्पनीको नाममा श्रम स्वीकृति निकालेर वा ब्यक्तिगत श्रम स्वीकृति लिई हजारौं नेपाली पठाइसकिएको छ ।

    सिनामंगलमा रहेको फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालिले सबैभन्दा नेपालीलाई रुसी सेनामा पठाएको छ । उक्त म्यानपावरले पुस १५ गते २ हजार भन्दा बढी नेपालीलाई रुसमा पठाउनका लागि अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि बैदेशिक रोजगार विभाग र काठमाडौं प्रहरी परिसरको टोली फ्रन्नटलाइनको कार्यालयमा पुगेको थियो ।

    बैदेशिक रोजगार विभागको टोली र प्रहरी पुगेपछि म्यानपावरका सञ्चालक सुरज केसी तुरुन्तै गायब भएका थिए । विभागको टोलीले कागजात नियन्त्रणमा लिएको छ । रसियाको सिनोपेक इन्जीनीयरीङ ग्रुपका लागि हेल्पर, कुक, एडमिनेष्ट्रेटर, स्काफोल्डर लगायतका कामदार आवश्यक भएको विज्ञापन नै निकालेर फ्रन्टलाइनले रुसी सेनामा नेपाली पठाउने चोरबाटो अपनाएको थियो ।

    विज्ञापनमा ७९ जना कामदार मागिएको भए पनि अन्तर्वार्तामा भने हजारौंलाई बोलाइएको थियो । कामदार मागको सूचना देखाएर अन्तर्वार्तामा बोलाउने र २ हजार भन्दा बढीलाई रुसी सेनामा पठाउने तयारी उक्त म्यानपावरको रहेको बिभागका अधिकारी बताउँछन् ।

    बैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले विभागको टोलीले फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालिमा छापा हानेको स्वीकार गरे । उनले भने–‘रुसी सेनामा नेपाली पठाउन अन्तर्वार्ता लिइरहेको सूचना प्रहरीमार्फत् आएको र म्यानपावरमा जाँदा ठूलो भीड देखिएपछि कागजात नियन्त्रणमा लिइएको हो । छानबिन भइरहेको छ ।’

    प्रहरी परिसर काठमाडौंका एक अधिकारीले रुसी सेनामा भाडामा लगिएका नेपाली मरिरहेको कुरा आएपछि नागरिक आक्रोशित भइरहेको बेला ७९ जनाको विज्ञापन निकालेर फ्रन्टलाइनले २ हजार भन्दा बढी नेपालीलाई पठाउनका लागि अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि बैदेशिक रोजगार विभागको टोली लिएर गएको बताए ।

    बैदेशिक रोजगार विभागमा फ्रन्टलाइनको सेटिङ

    फ्रन्टलाइन म्यानपावरले वैदेशिक रोजगार कार्यालय काठमाडौंका कर्मचारीहरुसँग सेटिङ गरी अहिलेसम्म पाँच सय भन्दा बढी नेपालीलाई रुसी सेनामा पठाइसकेको स्रोतको दावी छ । श्रम मन्त्रालयसम्म नै फ्रन्टलाइनले सेटिङ गरेकाले अन्तर्वार्ता लिइरहेको ठाउँमा पुगेर पनि केसीलाई पक्राउ नगरी उन्मुक्ति दिइएको स्रोतको दावी छ ।

    श्रममन्त्री शरतसिंह भण्डारीमाथि नै सुरज केसीलाई संरक्षण गरेको आरोप छ । रुसमा यसअघि कुनै पनि कम्पनीले नेपाली कामदार नमागेको अवस्थामा चोर बाटोबाट कम्पनीको डिमाण्ड लेटर ल्याएर फ्रन्टलाइनले नेपालीलाई रुसी सेनामा पठाउँदै आएको छ ।

    वैदेशिक रोजगार कार्यालय काठमाडौंका कर्मचारीलाई रुसी कम्पनीमा नेपाली कामदारको माग हुँदैन, सेनामै पठाइएको हो भन्ने थाहा हुँदाहुँदै प्रतिव्यक्ति ५० हजार घुस लिएर श्रम स्वीकृति दिने गरेको स्रोतले बताएको छ । रुसी सेनामा पठाउन लागिएको प्रष्ट हुँदाहुँदै पनि मन्त्रीकै संरक्षणमा श्रम स्वीकृति दिइएको स्रोत बताउँछ ।

    वैदेशिक रोजगार कार्यालय काठमाडौंको प्रमुख सहसचिव हुने व्यवस्था छ । तर, श्रममन्त्री भण्डारीले सहसचिव पार्वती अर्याललाई महिला आयोगमा सरुवा गराई शाखा अधिकृत कन्हैया मिश्रलाई हर्ताकर्ता बनाएका छन् । सहसचिव प्रमुख हुने विभागमा एक महिनादेखि मिश्रकै हालीमुहाली छ । मिश्रमाथि नै फ्रन्टलाइन म्यानपावरसँग मिलेर सेटिङमा रसियामा नेपालीलाई पठाउन श्रम स्वीकृति दिने गरेको आरोप छ ।

    अहिलेसम्म २ हजार भन्दा बढी नेपाली रुसी सेनामा कार्यरत रहेको अनुमान गरिएको छ । श्रम स्वीकृति निकालेर रुस पुगेका अधिकांश नेपाली भाडाका सैनिकका रुपमा युक्रेनसँग युद्ध लडिरहेका छन् । युद्धका क्रममा पाँच जना नेपाली युवाको मृत्यु भइसकेको छ । खुलेआम सूचना निकालेर नेपालीलाई रुसी सेनामा पठाउँदा पनि सरकारले फ्रन्टलाइन म्यानपावरका सञ्चालक सुरज केसीलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

    नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीका निकट रहेका सुरजले सबैभन्दा बढी नेपालीलाई रुसी सेनामा पठाएको जानकारी हुँदाहुँदै पनि वैदेशिक रोजगार विभाग र प्रहरी प्रशासनले आँखा चिम्लिएको छ । १०–२० जना नेपालीलाई रुस पठाउने केही कन्सलटेन्सी सञ्चालक पक्राउ परेपनि कम्पनीको डिमाण्ड लेटर देखाएर हजारौंको संख्यामा पठाउने फ्रन्टलाइनका केसीलाई अहिलेसम्म प्रहरीले छुन सकेको छैन ।

    राजनीतिक संरक्षणमा नै केसीले नेपालीलाई रुसमा पठाएर छ महिनाभित्र पाँच करोड भन्दा बढी असुलीसकेका छन् । थप दुई हजार नेपालीलाई रुस पठाउन अन्तर्वार्ता लिदालिंदै वैदेशिक रोजगार विभागले कागजात लगेपछि उनी कांग्रेसका नेता र एक विचौलिया पत्रकारलाई लगाएर मिलाउन लागेका छन् ।

    वैदेशिक रोजगार विभागले उनको म्यानपावरको लाइसेन्स निलम्बन गरेर छानविन गर्नुपर्नेमा अहिलेसम्म कागजात समेत नहेरी उनलाई उन्मुक्ति दिने तयारी गरेको छ । सानातिना कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाउने प्रहरीले केसी जस्ता हजारौंको संख्यामा रुस पठाउने डनलाई भने अहिलेसम्म छुट दिइएको छ । यसबारेमा वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । त्यसैगरी फ्रन्टलाइनका सञ्चालक सुरज केसीसँग पनि प्रतिकृया लिने प्रयास गरेका थियौं । तर, अनलाइन नेपालले पटक–पटक फोन गर्दा पनि उनी फोन काटेर पन्छिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार