Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भिजिट भिसाका नाइके अध्यागमनका कर्मचारीलाई जोगाउने तयारी

    भिजिट भिसाका नाइके अध्यागमनका कर्मचारीलाई जोगाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 11.4K
    SHARES

    तस्विर : अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    काठमाडौं । भिजिट भिसामा हजारौं नेपालीलाई विदेश पठाएको घटनामा प्रहरीले धेरै हल्ला गरे पनि प्रहरी अनुसन्धान फितलो देखिएको छ । शक्तिकेन्द्रको दबाबमा भिजिट भिसाका मुख्य नाइके तथा कर्मचारीसम्म प्रहरी पुग्न सकेको छैन ।

    विमानस्थलस्थित अध्यागमन कार्यालयका सबै जसो कर्मचारीको भिजिट भिसामा सेटिङ देखिए पनि हालसम्म एक जना मात्र कर्मचारी पक्राउ परेका छन् । अधिकृत नरवीर खड्का बाहेक अन्य पक्राउ परेका छैनन् । प्रष्ट संलग्नता खुलेका अन्यलाई प्रतिवादी समेत नबनाउन प्रहरीमा दबाब छ ।



    स्रोतका अनुसार अध्यागमनमा भिजिट भिसाको सेटिङ मिलाउने प्रमुख व्यक्ति अधिकृत विमल पौडेल हुन् । उनले नै बिचौलियासँग पैसा लिएर अन्य कर्मचारीलाई बाँड्ने गर्दथे । उनी लामो समय अध्यागमनमा बसेका कर्मचारी हुन् । उनको संलग्नताको बलियो प्रमाण भएपनि प्रहरीले अझै उनलाई पक्राउ गरेको छैन । पछिल्लो समय उनलाई जोगाउने चलखेल भइरहेको स्रोत बताउँछ ।



    पौडेल पूर्वगृहसचिव महेश्वर न्यौपानेका विश्वासपात्र हुन् । न्यौपाने गृहसचिव हुँदा उनी पिए थिए । न्यौपानेले नै उनलाई अध्यागमनमा पठाएका हुन् । उनी दुई–दुई पटक अध्यागमन बसेका अधिकृत हुन् ।

    ‘अध्यागमनका सबैभन्दा बदनाम पात्र नै उनी हुन्,’ गृह मन्त्रालय स्रोत भन्छ–‘सेन्ट्रल कलेक्सन गरेर पैसा बाड्ने व्यक्तिका रुपमा चर्चित छन्, अहिले आफुलाई जोगाउन प्रहरीसमक्ष मोटाे रकमको प्रस्ताव गरेको चर्चा छ ।’ अध्यागमनमै बसेर उनले तीन करोडभन्दा धेरै कमाएको सहकर्मीहरु बताउँछन् । त्यही पैसा प्रयोग गरेर अहिले प्रहरी अनुसन्धानलाई समेत प्रभावित पार्ने प्रयासमा छन् ।

    एक व्यक्तिलाई भिजिट भिसामा विदेश पठाउँदा अध्यागमन कर्मचारीले औसतमा ५० हजार लिने गर्दथे । एकै दिन २ सय भन्दा धेरैलाई भिजिट भिसामा उडाउने गरेको खुलेको छ । जसअनुसार एकै दिनमै कर्मचारीले एक करोड भन्दा धेरै घुस लिने गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

    तर, दबाब र आर्थिक चलखेलका कारण भिजिट भिसाको छानबिन कमजोर हुने देखिएको छ । अर्का अधिकृत नरवीर खड्कालाई मानव बेचबिखनको मुद्दा समेत दायर भएकोमा सो मुद्दामा उनी धरौटीमा छुटिसकेका छन् ।

    प्रहरीले लिखत कीर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । जसमा अर्का अधिकृत ताराबहादुर कुँवरको समेत संलग्नता पुष्टि भइसकेको छ । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको छ ।

    उता गृह मन्त्रालयले पनि यो प्रकरणलाई सामसुम बनाउने प्रयास गरेको छ । मन्त्रालयले यसमा संलग्न देखिएका कर्मचारीमाथि कारबाही गरेको छैन । सेटिङमा संलग्न अध्यागमन कार्यालयका प्रमुख गोगन हमाल लगायत कर्मचारीलाई सरुवा समेत गरिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार