Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • तराईका १० जिल्लामा एसपी लैजान बिचौलिया सक्रिय

    तराईका १० जिल्लामा एसपी लैजान बिचौलिया सक्रिय

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 26.1K
    SHARES

    काठमाडौं । बिचौलियाहरू सक्रिय भएपछि नेपाल प्रहरीको एसपीको सरुवा फेरि रोकिएको छ । खासगरी तराईका १० जिल्लामा सरुवाका लागि एसपीबीच मारामार छ ।

    बदनाम एसपीहरू बिचौलियामार्फत आर्थिक चलखेल गरी तराईका जिल्लामा जाने प्रयासमा छन् । गत शुक्रबार सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी भएपनि मुख्य जिल्लामा पठाउने एसपीको नाममा सहमति हुन सकेको छैन ।



    हाल झापा, मोरङ, सिराहा, महोत्तरी, पर्सा, चितवन, रुपन्देही, बर्दिया, कैलाली र कञ्चनपुरको प्रहरी नेतृत्व फेरिँदै छ । १० जिल्लाका लागि ३० भन्दा धेरै एसपीहरुबीच प्रतिस्पर्धा छ । शक्तिकेन्द्रको सिफारिस, बिचौलियाको चलखेल तथा गृह मन्त्रालय–आइजिपीको टक्करका कारण एसपी सरुवा हुन सकेको छैन ।



    झापामा जानका लागि दुई बदनाम एसपीहरू लागेका छन् । एसपी मिलन केसी र पदम बहादुर बिष्ट झापा जाने प्रतिस्पर्धामा छन् । दुवै जना यसअघि कारबाही भोगेका अधिकृत हुन् । केसी स्वयम्भू वृत्तमा डिएसपी हुँदा गुन्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न जेल गएकोमा कारबाहीमा परेका थिए ।

    बिष्ट सुर्खेतमा कार्यरत रहँदा लागु औषध मुद्दामा प्रतिवादीलाई उन्मुक्ति दिएको घटनामा मुछिएका थिए । त्यस्तै, मोरङमा जान श्याम कुमार राई र श्याम खत्रीको प्रतिस्पर्धा छ । राई यसअघि बौद्ध वृत्तमा हुँदा घुस काण्डमा परेका अधिकृत हुन् । खत्री पनि कार्यसम्पादनमा कमजोर मानिन्छन् ।

    मानवस्रोत विकास विभागका एआइजी टेकप्रसाद राईको पावरमा राई मोरङ जाने प्रयासमा छन् । साथै, कोशी प्रदेशका डिआइजी चन्द्रकुबेर खापुङको समेत पावर लगाइरहेका छन् । महोत्तरी र सिराहामा सन्तोष आचार्य, चक्रराज जोशी, रुपेश खड्का लगायतको सिफारिस छ ।

    चितवनमा भावेस रिमालले माओवादी नेतासँग सेटिङ मिलाएका छन् । पर्सामा कुमोध ढुङ्गेलको सम्भावना भएपनि अन्य केही एसपी पनि बिचौलियामार्फत सक्रिय भएका छन् । रुपन्देहीमा बसुन्धारा खड्काको प्रबल सम्भावना छ । तर, एसपी दयानिधी ज्ञवाली समेत शक्तिकेन्द्र धाइरहेका छन् ।

    यसअघि तराईमा बसिसकेका एसपीहरू भने पहाडी जिल्ला छानिरहेका छन् । धनकुटा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, पाल्पा, सुर्खेत लगायत पहाडी जिल्लाका एसपीहरू पनि फेरिँदै छन् ।

    तर, सरुवामा राजनीतिक हस्तक्षेप र चलखेलले १३ महिना धेरै हुँदा पनि सरुवाको निर्णय हुन सकेको छैन । जसकारण सरुवा हुने जिल्लामा बेथिति बढिरहेको छ भने सरुवामा झन् चलखेल बढिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार