Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इजरायलले गर्‍यो इरानमा जवाफी मिसाइल आक्रमण

    इजरायलले गर्‍यो इरानमा जवाफी मिसाइल आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 315
    SHARES

    एजेन्सी । इजरायलले इरानमाथि मिसाइल हमला गरेको छ । इजरायलले शुक्रबार बिहान इरानमाथि जवाफी आक्रमण गरेको हो ।

    शुक्रबार बिहान इरानको उत्तरपश्चिमी सहर इस्फाहानमा विस्फोटको आवाज सुनिएको थियो । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको वायु रक्षा प्रणाली धेरै प्रान्तमा सक्रिय भएको छ।



    देशका धेरै भागहरूमा सुनिएको विस्फोट एयर डिफेन्स सिस्टमले अज्ञात मिनी ड्रोनहरूलाई लक्षित गरेको कारण भएको हो । इजरायल–हमास युद्ध चलिरहेकै बेला शनिबार इरानले एकैरात इजरायलमा तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।



    इरानले प्रहार गरेका तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतभन्दा धेरैलाई प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको थियो । ड्रोन तथा क्षेप्यास्त्र नष्ट गर्न इजरायललाई अमेरिका, बेलायत र फ्रान्सलगायत देशले पनि सहयोग गरेका थिए ।

    परमाणु हतियारसँग सम्बन्धित साइटहरू सुरक्षित रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इरानी सञ्चारमाध्यममा पनि धेरै सहरमा उडान रद्द गरिएको खबर आएको छ ।

    उडानहरू रद्द गरिएका शहरहरूमा तेहरान, शिराज र इस्फाहान पर्छन् । इजरायलले मिसाइल हानेकोमा इरानले चेतावनी दिएको छ । इरानको परमाणु सुरक्षा प्रमुख जनरल अहमद हकतलबले आफ्नो परमाणु स्थललाई निशाना बनाए इजरायललाई गम्भीर प्रतिक्रिया दिइने चेतावनी दिएका हुन् ।

    यसअघि इरानका विदेशमन्त्री हुसेन अमिर-अब्दुल्लायानले इजरायलले कुनै पनि प्रतिशोधात्मक कारबाही गरेमा तुरुन्त र ठूलो मात्रामा जवाफ दिइने बताएका थिए। अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा हमला भएको थियो ।

    यस हमलामा एक वरिष्ठ जनरल सहित कुल १३ जनाको मृत्यु भएको थियो । इरानले यस आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ । तर, इजरायलले सो आक्रमणको प्रत्यक्ष जिम्मेवारी लिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार