काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा उच्च पदका नाममा नभई जनताका नाममा कार्यक्रम राख्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आजको बैठकमा मन्त्री, सचिवलगायतलाई प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् । उनले प्रधानमन्त्री जस्ता ठूला पदको सट्टा जनताका नाममा कार्यक्रम बनाउन निर्देशन दिए ।
उनले भने,“प्रधानमन्त्रीसँग रोजगार जस्ता कार्यक्रम ठूला पदका नामबाट राखियो। यही सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्। यो परिपाटीलाई बदलेर जनतासँग रोजगारजस्ता कार्यक्रम राख्न निर्देशन दिन्छु। नयाँपन दिने गरी काम गर्नुहोस् ।”
प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न निर्देशन पनि दिए ।