Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने १० जना प्रहरी पुरस्कृत

हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने १० जना प्रहरी पुरस्कृत

बुधवार , भाद्र ५, २०८१

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरीलाई पुरस्कृत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाको अनुसार गत साउन २३ गते भएको हेलिकप्टर दुर्घटनाको जानकारी प्राप्त भएदेखि घटनास्थलबाट पाटपूर्जा सङ्कलन कार्यसम्मको अवधिमा प्रशंसनीय कार्य गर्ने १० जना प्रहरीलाई सम्मान गरिएको हो ।

हेलीकप्टर दुर्घटना भएको सूचना प्राप्त लगत्तै घटनास्थल पुगेर हेलिकोप्टरमा लागिरहेको आगो निभाएर च्यापिएका यात्रुको शव थप क्षति हुन नदिई तदारुकताको साथ साहसिक उद्धार कार्यमा खटिएका, अन्य निकायसँग प्रभावकारी समन्वय गरेका र घटनास्थलमा यत्रतत्र छरिएका यात्रुको सामग्री र हेलिकप्टरका पाटपूर्जाको भरपर्दो सुरक्षा व्यवस्था मिलाएका प्रहरीलाई सम्मान गरिएको हो ।

नगद रुपैयाँसहित प्रशंसापत्रबाट पुरस्कृत भएका प्रहरीको रेकर्ड अभिलेख किताबखानामा समावेश गर्न सिफारिस गरिएको बताइएको छ ।

सम्मानित हुनेमा प्रहरी हबल्दार आशबहादुर गुरुङ, राजन खत्री र दीपेन्द्र पण्डित, प्रहरी सहायक हबल्दारहरू सुवास खत्री, कमल सापकोटा र गणेशप्रसाद तिवारी रहेका छन् ।

प्रहरी जवानहरू तुर्कबहादुर शाही, अशोक गाहा, सङ्गम कोइरी र विजन गुरुङलाई हेलिकप्टर दुर्घटनाको क्रममा उद्धार, समन्वय र सुरक्षामा पुर्‍याएको योगदानको कदर गर्दै नगद रुपैयाँसहित सम्मान गरिएको बताइएको छ ।

गत साउन २३ गते त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाँउपालिका–७ सूर्यचउरमा दुर्घटना भएको क्याप्टेन अरुण मल्लसहित चार जनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077