Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कछुवा गतिमा चौरपाटीको आधारभूत अस्पताल, दुई वर्ष भित्र निर्माण गर्ने लक्ष्य अधुरै

कछुवा गतिमा चौरपाटीको आधारभूत अस्पताल, दुई वर्ष भित्र निर्माण गर्ने लक्ष्य अधुरै

सोमवार , भाद्र १०, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकामा आधारभूत अस्पतालको निर्माण कार्य कछुवा गतिमा भइरहेको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १७ गते तीन सय ९६ पालिकामा आधारभूत अस्पताल शिलान्यास गरेका थिए ।

सोही दिन चौरपाटी-१ मा पनि आधारभूत अस्पताल शिलान्यास भएको थियो । तर चार वर्षसम्म पनि सो अस्पतालको प्रगति कछुवा गतिमा भइरहेको हो । यहाँ १५ शय्याको आधारभूत अस्पताल बन्नेछ । तर निर्माणमा ढिलाइ हुँदा कहिले अस्पताल निर्माण हुन्छ भन्नेमा आशंका उब्जिएको छ । करिब १३ करोडको लगानी अस्पताल निर्माण भइरहेको छ ।

स्रोतका अनुसार अहिलेसम्म पाँच करोड भन्दा बढी रकम भुक्तानीसमेत भइसकेको छ । यो अस्पताल निर्माण गर्ने जिम्मा स्वार कन्स्ट्रक्सनले लिएको थियो । ढाई वर्षमा निर्माण सम्पन्न गर्ने गरी गाउँपालिकाकाले स्वार कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । सो सम्झौता असार महिनामै सकिएको छ ।

अब फेरि म्याद थप गर्ने तयारी छ । तर बजेट अभावका कारण म्याद थप्ने विषयमा अन्यौलता छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले काम कछुवा गतिमा भइरहेको आरोप लागेको छ । यस्तै स्थानीय सरकारले पनि अस्पताललाई बेवास्ता गरेको आरोप छ ।

तर यता गाउँपालिकाका इन्जिनियर लोकेन्द्र रावलले बजेट अभावका कारण निर्धारित सयमै काम गर्न नसकिएको बताए । सरकारबाटै बजेट नआएपछि काममा तीव्रता आउन नसकेका उनले सुनाए । उनका अनुसार अहिले अस्पतालको करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

सो अस्पताल निर्माणका लागि अघिल्लो वर्ष करिब दुई करोड ५० लाखसम्म बजेट आएको थियो । तर यस वर्ष भने बजेट नआएको इन्जिनियर रावलले जानकारी दिए । ठेकेदार कम्पनीले पेश्की स्वरूप ढाई करोड पनि लिएको उनले बताए । उनका अनुसार पेश्कीसहित करिब पाँच करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।

तर पनि अस्पताल निर्माणले भने गति लिन सकेको छैन । आफूहरूले बजेट उपलब्ध गराइदिन सरकारलाई पटक पटक पत्र लेखेको पनि उनको भनाई छ । उनले भने, “बजेटका लागि पहल गरिरहेका छौँ । चिठी पठाउँछौँ हामीले । अघिल्लो वर्ष त लास्ट लास्टमा पठाएको थियो । मागेपछि मन्त्रालयले पठाउँदो रहेछ । सबै स्थानीय तहमा अस्पताल बन्दै छन् । उता पनि पैसाको अभाव होला ।”

यो आर्थिक वर्षभित्र अस्पताल निर्माण गरिसक्ने उनको भनाई छ । तर यो आर्थिक वर्षभित्रै निमार्ण कार्य सम्पन्न नहुने सम्भावना छ । अहिलेसम्म अस्पतालको पिलर मात्रै खडा गरिएका छन् ।

योसँगै आधारभूत अस्पतालबाट दुई वर्षमा निर्माण सम्पन्न गरी सेवा दिने सरकारको उद्देश्य पूरा नहुने निश्चित भएको छ । साथै अहिलेसम्म अस्पताल बन्न लागेको आधा जग्गा पनि अस्पतालको नाममा आउन सकेको छैन ।

उसो त यो अस्पतालको ठेक्का हुने बेला समेत मिलेमतोको आशंका गरिएको थियो । त्यस बेला पनि ठेक्का दिइएको विषय विवादमा थियो ।

अख्तियारले दिएको निर्देशनको अवज्ञा

यस्तै अस्पतालको तलबाट बनाइएको वाल पनि भत्किसकेको छ । करिब तीन करोड २५ लाख बजेटमा बनेको सो वाल निर्माण गरिएको केही समयमै भत्किएको थियो ।

अघिल्लो वर्षको असार महिनामा वाल भत्किएकोमा अहिलेसम्म पनि पुर्ननिर्माण गरिएको छैन । सो वाल भत्किएपछि गुणस्तरहीन काम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरीसमेत परेको थियो । अख्तियारले वाल फेरि निर्माण गर्न निर्देशन पनि दियो ।

तर अख्तियारको सो निर्देशनको पनि पालना भएको छैन । वाल भत्किएको लामो समय बितिसक्दा पनि निर्माण कम्पनीले पुनः निर्माण गर्न अटेर गरिएको छ । अहिलेसम्म वाल निर्माण गरिएको छैन । गाउँपालिकाका इन्जिनियर रावलले वाल पुनः निर्माण गर्न भनिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077