Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उमेर नपुग्दै बच्चा जन्माउनेको संख्या बढ्दो, एक वर्षमा ४५ किशोरी बनिन् आमा !

उमेर नपुग्दै बच्चा जन्माउनेको संख्या बढ्दो, एक वर्षमा ४५ किशोरी बनिन् आमा !

बुधवार , भाद्र १२, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकामा उमेर नपुग्दै बच्चा पाउने किशोरीको संख्या बढेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा करिब १८.२९ प्रतिशत २० वर्ष नपुगेका किशोरी आमा बनेका हुन् ।

चौरपाटी गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गत वर्ष सात वटै वडाका २४६ महिलाले बच्चा जन्माएका थिए । तीमध्ये ४५ किशोरीले उमेर नपुग्दै बच्चा पाएको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ ।

कम उमेरमा बच्चा पाउने सबैभन्दा बढी वडा नम्बर १ सिउँडीका १९ किशोरी रहेका छन् भने वडा नम्बर ७ मार्कु मा सबैभन्दा कम शून्य रहेका छन् ।

स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार वडा नम्बर २ सोकटमा १०, वडा नम्बर ३ गगुडामा ९, वडा नम्बर ४ पायलमा ४, वडा नम्बर ५ लुंग्रामा १ र वडा नम्बर ६ दुनीमा २ किशोरीले उमेर नपुग्दै बच्चा जन्माएका छन् । त्यस भन्दा अघिल्लो आर्थिक वर्षमा २०७९/८० मा ३१९ महिला आमा बनेकी थिइन् ।

त्यस मध्ये ३४ किशोरी कम उमेरमा बच्चा जन्माएको तथ्याङ्कमा उल्लेख छ । सो वर्ष पनि वडा नम्बर १ सिउँडी सबैभन्दा बढी ११ किशोरीले बच्चा पाएको देखिन्छ भने वडा नम्बर ५ मा शून्य रहेको छ ।

नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ । तर व्यवहारमा लागू छैन । कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या उल्लेखनीय रूपमा घट्न सकेको छैन ।

बाल विवाह गर्नु कानुन विपरीत भए पनि यसको बेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन । बाल विवाह रोक्न विभिन्न सचेतनामूलक कार्यक्रम गरे पनि कमी आउन नसकेको दाबी गरिएको छ । बाल विवाह रोक्न गाउँपालिकाले कुनै पनि ठोस कार्यक्रम ल्याएको छैन ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख खेम बहादुर बोगटीले ४५ किशोरी उमेर नपुग्दै आमा बनेको जानकारी दिए । तर यो संख्या अझै बढी हुनसक्ने उनको अनुमान छ । कतिपयले उमेर ढाटेको पनि हुनसक्ने उनले बताए ।

उनका अनुसार पालिकाभर बच्चा जन्माउने महिलाहरूको संख्या अझै बढी हुनसक्ने उनको दाबी छ । उनले भने, “डोटी जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा पनि महिलाहरूले बच्चा जन्माएका हुन सक्छन् । यो संख्या अझै बढ्न सक्छ ।”

कलिलो उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैलाई खतरा हुने स्वास्थ्य शाखा प्रमुख बोगटीले बताए । “उमेर नपुग्दै विवाह गर्दा धेरै बच्चा पाउने, जन्मान्तर कम हुने, बच्चामा कुपोषणको जोखिम, महिलामा पाठेघरको क्यान्सर र आङ खस्ने जस्ता समस्या हुने गरेको देखिन्छ,” उनले भने ।

साथै वडा नम्बर १, २ र ३ मा कम उमेरमा बच्चा जन्माउने किशोरीको संख्या बढी देखिनुमा अन्य वडाको भन्दा अशिक्षा र चेतनाको कमी बढी रहेको पाइएको छ । यस्तै महिलाको क्षेत्रमा काम गरिरहेको समविकास नेपालका सह–संस्थापक तथा महिला अधिकारकर्मी पशुपति कुँवरका अनुसार अछामका विभिन्न पालिकामा बाल विवाह बढ्दो क्रममा रहेको छ ।

आफूहरूले टोल–टोलमा किशोरीहरूको समूह बनाएर बाल विवाह रोक्ने प्रयास गरिरहेको भए पनि रोक्न नसकिएको उनको भनाई छ । बाल विवाह बढ्नुका धेरै कारण भए पनि प्रमुख कारण गरिबी र अशिक्षा भएको उनको जिकिर छ ।

उनले पनि कम उमेरमा बच्चा जन्माउनु स्वास्थ्य, मानसिक, र सामाजिक दृष्टिले जोखिमपूर्ण रहेको बताइन् । सानै उमेरमा विवाह नगर्न किशोरीहरूलाई उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077