पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेमाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको हो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविका लागि पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो। अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप दिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
उनलाई कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सासमेत लगेर बयान लिइएको थियो ।
कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।