काठमाडौं । गृह मन्त्रालयले डीआईजीसँगै एसएसपीको पनि सरुवा तयारी गरेको छ । एसएसपीको सरुवामा काठमाडौं परिसर, ललितपुर परिसर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जस्ता महत्वपूर्ण कार्यालयका प्रमुख हेरफेर हुनेछन् ।
काठमाडौंका एसएसपी बसन्त रजौरेको कार्यकाल एक वर्ष पुगेको छैन । उनी गत वर्ष चैतमा परिसरमा आएका थिए। तर, काठमाडौं परिसरमा नौ महिनाको अवधिलाई पूरा मानेर सरुवा गर्न लागिएको छ ।
काठमाडौं परिसरमा सरुवाका लागि एक दर्जन एसएसपीहरू लागेका छन् । जसमा रमेश बस्नेत, विश्व अधिकारी, श्यामकृष्ण अधिकारीमध्ये एकको सम्भावना अधिक छ ।
ललितपुर परिसरका एसएसपी शेखर खनालको कार्यकाल करिब एक वर्ष पुग्न लागेकाले उनको सरुवा हुने निश्चित जस्तै छ । जहाँ तारादेवी थापादेखि हालै डीआईजी बढुवामा छुटेका केही एसएसपीहरु समेत लागेका छन् ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको पनि सरुवा हुने भएको छ । उनको पनि नौ महिना अवधि पुगिसकेको छ । अपराध अनुसन्धान कार्यालयमा उनले राम्रो काम गर्न समेत नसकेको टिप्पणी छ ।
अपराध अनुसन्धान कार्यालय तथा ललितपुर परिसरमा तारादेवी थापा, नान्ती गुरुङ, भिमबहादुर दाहाल समेत छन् । डीआईजी बढुवामा छुटेका बिनोद घिमिरे, अरुण पौडेल, सुदर्शन कोइराला, शारदा प्रसाद चौधरी, सुरेन्द्र गुरुङ लगायत एसएसपी पनि फेरि पनि बढुवामा छुटेमा इन्चार्ज जाने लबिङमा लागेका छन् ।
केही पैसा नै बुझाएर इन्चार्ज जाने दाउमा लागेपछि पनि एसएसपी सरुवा पेचिलो बनेको स्रोत बताउँछ ।