काठमाडौं । संघीय संसद्को लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
मोरङको धनपालथान गाउँपालिका–३ को उमागौरी सहकारीको रकम अपचलन मुद्दामा कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालत प्रशासनले जनाएको छ ।
पक्राउ पुर्जी जारी गरी इलाका प्रहरी कार्यालय रंगेलीलाई पठाइएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्यसअघि २४ भदौमा सहकारी रजिस्ट्रार कार्यालय कोशीले पोखरेल पत्नीको नाम काटेर अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह तथा सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जीतमान ठाकुरको नाम अनुसन्धान गर्न प्रहरीलाई पठाएको थियो।
इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी कोइराला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।
लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।
कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ ।